शान्ति आधाभूत विद्यालयमा शिक्षा सुधारका लागि छलफल तथा अन्तरक्रिया सम्पन्न

न्युजलय १५ जेठ २०८२, बुधबार १०:५२ मा प्रकाशित

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका स्थित श्री शान्ति आधाभूत विद्यालयमा शैक्षिक सुधारका लागि खुला रुपमा छलफल तथा अन्तरक्रिया गरिएको छ । 

मंगलबार हतुवागढी गाउँपालिका ५ नं. वडा कार्यलयको आयोजनामा उक्त विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक अभिभावकबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो । 

हतुवागढी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख डिल्लीराम आचार्यको प्रमुख आतिथ्यतामा ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा विद्यार्थी र अभिभावकहरुको तर्फबाट सास्कृतिक नृत्य प्रस्तुत साथै विद्यालयको शिक्षा सुधारका लागि शिक्षक, विद्यार्थी अभिभावकहरुबाट राय सुझाव संकलन गरिएको थियो । 

शैक्षिक उन्नयनका लागि वडाको पहलमा भएको उक्त कार्यक्रमले समग्र गाउँपालिकाको शिक्षा सुधारमा सकारात्मक प्रभाव पार्ने हतुवागढी शिक्षा शाखा प्रमुख डिल्लीराम आचार्यले बताउनुभयो । विद्यालयका शिक्षक अभिभावक, विद्यार्थी र सरोकारवालाहरुको चासो, गुनासोको विषयमा अन्तरक्रिया गर्नाले शैक्षिक गुणस्तर वृद्धि हुने उल्लेख गर्दै उनले शक्षा सुधारका लागि गाउँपालिकाले विगत देखि शैक्षिक क्यालेण्डर अनुसार विद्यालय र अभिभावक तह सम्म पुगेर छलफल अन्तरक्रिया गर्दै आएको बताए ।

कार्यक्रममा सहभागीहरुले विद्यालयमा शैक्षिक सुधार ल्याउन सबै सरोकारवाला पक्षले ध्यान दिन आवश्यक रहेको सुझाव दिएका थिए ।

विशेष गरि अभिभावकहरुले खासै आफ्ना सन्ततीको पठनपाठन प्रति चासो दिन नसकेको विषयलाई उल्लेख गरिएको थियो । स्थानीय पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक अभाव, शिक्षकको दैनिक उपस्थिथि र शैक्षिक सामाग्रीको प्रयोग, शिक्षा शाखा र वडाकार्यलयले गरेको अनुगमन लगायतको विषयमा उठेका गुनासोलाई सुधार तथा कार्यन्वयनमा लैजानका लागि निर्णयको रुपमा टिपोट गरिएको विद्यालयका प्रधानध्यापक ज्ञानराज खुलालले जानकारी दिए । 

विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन शिक्षा क्षेत्रका ब्यक्ति, स्थानीय अभिावक र सरोकारवालाहरुबाट खुल्ला रुपमा राय, सुझाव र प्रतिक्रिया लिन खुल्ला छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको ५ नं. वडाका अध्यक्ष सुरेशकुमार राईले बताए ।

विद्यालयमा पूर्वाधार निर्माणदेखि अन्य आवश्यक संरचना व्यवस्थापन उत्तिक्कै आवश्यक रहेकाले वडा कार्यलयको तर्फबाट सकेको सहयोग गर्ने बताउँदै वडाध्यक्ष राईले शिक्षकले मात्र शैक्षिक सुधार गर्न नसक्ने भएको कारण अभिभावक, विद्यार्थी, सहयोगी निकाय, विद्यालय व्यवस्थापन समिति सबै आ–आफ्नो स्थानमा लाग्नु पर्ने उल्लेख गरे ।