इटहरी । इटहरीमा दुई दिने घुम्ती किम्फ सुरु भएको छ । काठमाडौ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)ले गरेको वृत्तचित्र तथा छोटा फिचर फिल्महरुको उक्त प्रदर्शनीमा विद्यार्थी, अविभावक र चलचित्रप्रेमीहरुको उत्साहजनक उपस्थिती थियो ।
संगीत साधना प्रतिष्ठान इटहरीको संयोजनमा विहीबार र शुक्रबार प्रतिष्ठानको भवनमा फेस्टिभल सुरु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीता चौधरीले विभिन्न विषयमा बनेका फिचर फिल्म र डकुमेन्ट्रीले चेतना जगाउन सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रमअन्तर्गत साँझ इटहरीको फिल्म र डकुमेन्ट्रीको विषयमा अन्तक्र्रिया कार्यक्रमसमेत गरिएको थियो । जसमा इटहरीका पुराना फिल्म निर्देशक तथा कलाकार केशव विष्ट, नेपाल चलचित्रकर्मी महासंघ कोशीका अध्यक्ष अरुण प्रधान र इतिहासमा इटहरी वृत्तचित्रका परिकल्पनाकार तथा लेखक हिमाल दाहालले आफ्नो अनुभव बताएका थिए ।
विहीबारसम्म चल्ने फेस्टिभलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वृत्तचित्र तथा फिचर फिल्मको प्रदर्शन भइरहेका छन् । फिल्मको प्रदर्शनी निःशुल्क छ । संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीका अनुसार शुक्रबार साँझ संगीत चोकमा ७२ मिनेट लामो ‘इन द स्याडो अफ एभरेस्ट’ नामक वृत्तचित्रको खुला प्रदर्शन गर्दै कार्यक्रम समापन गरिनेछ ।