इटहरी । इटहरीका मेयर हेमकर्ण पौडेलले इटहरीका वडाध्यक्षहरु जिम्मेवार नभएको आरोप लगाएका छन् ।
उनले जनतालाई परेका समस्या समाधान गर्न वडाध्यक्षहरु जिम्मेवार नदेखिएको आरोप लगाए । वडामा साना–साना काम समयमै नभएको र वडा अध्यक्ष जिम्मेवार नबनेको उनले बताएका छन् । साना कामका लागि पनि नगरमै आउनुपर्ने बाध्यतामा नगरवासी पुगेको बताउँदै उनले बाटोको समस्याबारे सभ्य भाषामा फोटो, भिडियो बनाएर आफ्नो ह्वाट्सएप नम्बरमा पठाउन आग्रह गरेका छन् ।
उनले इटहरीका बाटोहरु खराब रहेकोले हिड्दा सावधानी अपनाउनसमेत आग्रह गरेका छन् । उनले नगरवासीलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन् । गर्नैपरे छाता, रेनकोट र उपयुक्त जुत्ता प्रयोग गर्न, खोलानाला, पुल र चिप्लो भागमा विशेष सावधानी अपनाउन र भित्रि सडकको समस्याको फोटो भिडियो बनाएर पठाउन आग्रह गरेका हुन् ।
नगरवासीका अनेक प्रतिक्रिया
उनको पोस्टमा नगरवासीले विभिन्न खालका प्रतिक्रियासमेत दिएका छन् । कतिपयले राम्रो सुझाव र पहल भनेका छन् भने कतिपयले वडाध्यक्ष र मेयरसमेतको काम गर्ने क्षमतामा प्रश्न उठाएका छन् । साथै कतिपयले गुनासोहरुसमेत पोखेका छन् ।
नगरवासी राजन अधिकारीले वडाअध्यक्षलाई भन्दा बजेट छैन भनेर नगरमै जान सिफारिस गर्ने गरेको गुनासो गरेका छन् ।
नेकपा समाजवादी नेता रमेश खत्रीले वडा अध्यक्षहरु पनि जिम्मेवार हुनपर्नेमा जोड दिँदै ७० लाखमा खोला ठेक्का लगायर ६० लाखको गिट्टी तिनै ठेक्दारसँग लिएको सुनिएको भनेर लेखेका छन् ।
रमेश पाण्डेले बजेट उपलब्ध गराएर वडाध्यक्षलाई निर्देशन दिन आग्रह गरे ।
गजेन्द्र भट्टराईले एउटा सामान्य कामका लागि नगर कार्यलय धाइरख्नुपर्ने अवस्था रहेको गुनासो गर्दै उपमहानगरपालिकाबाट टिप्पर, मिसगिटी पाउन नसकेको गुनासो गरे । उनले नगर प्रमुखले आफू मातहतका क्षेत्रमा किन समस्या आइरहेका छन भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । साथै विभिन्न समुहलाइ विभिन्न नाममा बजेट बाँड्नुभन्दा जनताका आधारभूत समस्याका विषयमा पनि ध्यान दिन आग्रह गरे ।
उपेन्द्र नगार्दनले इटहरी सरकार २० वटै वडा खारेजी गरेर एउटै सिङ्गो वडा बनाउनुपर्ने बताए ।