हतुवागढीका युवाहरुलाई सामुदायिक पशु सहायक तालिम प्रदान

न्युजलय १८ बैशाख २०८२, बिहिबार १२:२७ मा प्रकाशित

घोडेटार । भोजपुरको हतुवागढी गाउापालिकाका युवाहरुलाई सामुदायिक पशु सहायक तालिम प्रदान गरिएको छ । 

हतुवागढी गाउँपालिकाको प्रत्येक वडाका दुई जना छनोट गरी १८ जनालाई प्रदान गरिएको पशु स्वास्थ्य सहायक तालिम आइतबार समापन गरिएको हो । 

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित उक्त तालिमले सहभागी युवाहरुलाई सीप सिक्नका साथै व्यक्तित्व विकासमा टेवा पुगेको हतवागढी गाउापालिका कृषि शाखा प्रमुख ज्योति देवनले उल्लेख गरे । सहभागीलाई तालिम मार्फत सिकेका सीपलाई व्यवहरमा लागू गर्न अनुरोध गर्दै उनले आगामी दिनमा पुनर्ताजकी तालिम प्रदान गरिने बताएका छन् । 

हतुवागढी ५ स्थित वडाकार्यलयमा पशु स्वास्थ्य शिविरमा समेत सहभागी गराइ सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा १६० घण्टा सम्म सञ्चालन गरिएको तालिममा पशुपालनमा आउने समस्याको आधारभूत उपचार र खोप सम्बन्धि सीप सिकाइएको हो । कृषि र पशुपालनमा आत्र्मनिर्भर रहेको गाउँमा पशुसम्बन्धि समस्या आउँदा पशु स्वास्थ्य सहायक अभावको समस्या न्युनिकरण गर्न तालिमले सहयोग पुग्ने सहभागी सुमित राईले बताए ।

बेरोजगारी न्युनीकरण र रोजगारीको अवसर सिर्जना गरी समतामुलक र समावेशी आर्थिक विकास गर्ने लक्ष्य रहेको उक्त तालिम हतुवागढी गाउँपालिकाको आयोजना र सुम्निमा बहुप्राविधिक शिक्षालय भोजपुर साझेदार संस्थाको रुपमा रहेको थियो ।