भारतमा केहीदिनमै कोभिडको खाने औषधिलाई स्वीकृति दिइने

न्युजलय २८ कार्तिक २०७८, आइतबार ०८:१७ मा प्रकाशित

नयाँ दिल्ली । कोभिड–१९ बाट मध्यमदेखि गम्भीर संक्रमण सम्मको अवस्थाबाट जोगाउने ‘मर्क ड्रग मोल्नुपिराभिर पिल’ (खाने औषधि) लाई भारतले केही दिनमै आपतकालीन प्रयोगका लागि स्वीकृति दिन सक्ने कोभिड स्ट्राटजी ग्रुपका निर्देशक डाक्टर राम विश्वकर्माले बताएका छन् । 


सो औषधि कोभिड संक्रमण गम्भीर बन्दै जान सक्ने जोखिममा रहेका वयश्कहरुका लागि प्रयोग गरिने उनले बताए । उता अर्को कम्पनी फाइजरले ल्याएको त्यस्तै खाने पिल स्वीकृत हुन चाहिँ अझै केही समय लाग्ने बताइएको छ । 

 

यी दुवै औषधिले महामारीको असरमा उल्लेखनीय सुधार ल्याउन सक्ने र आगामी दिनहरुमा खोप भन्दा महत्वपूर्ण साबित हुने समेत उनको दाबी छ । 


मोल्नुपिराभिर औषधि सम्बन्धी डाटा निरीक्षकहरुकहाँ पुगिसकेको हुनाले छिटै स्वीकृत हुने सम्भावना रहेको उनले बताए । 

 

मर्कले चाहिँ पाँचवटा कम्पनीसँग सम्झौता गरिसकेको छ । मूल्यका बारेमा उनले सुरुवातमा यसको प्रति एक साइकलको उपचारका लागि २ हजार देखि ३ हजार या ४ हजार भारतीय रुपैँयासम्म लाग्न सक्ने र पछि तल झरेर ५०० देखि ६०० या १ हजार रुपैँयासम्म पुग्ने बताएका हुन् । 


मर्कको प्रति एक उपचार कोर्सका लागि अमेरिकी सरकारले चाहिँ ७१२ डलर तिर्ने बताएको छ । र यसले कम आयदर भएका मुलुकहरुमा कम मूल्यमा निर्माण गर्ने तयारी गरिरहेको छ । यस अन्तर्गत भारतमा पनि यसको निर्माण सुरु हुने बताइएको छ ।