विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ की सात वर्षीया बालिका बलात्कारपछि हत्या गरिएको घटनामा आफ्नै काका संलग्न रहेको पाइएको छ।
प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बालिकाका कान्छा काका अनिष सरदारलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ।
शनिबार बिहान आत्तिकाको शव घर नजिकैको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा भेटिएको थियो। अनुहार, घाँटी र शरीरका अन्य भागमा चोटपटक देखिएपछि प्रहरी घटनास्थलमै पुगेर अनुसन्धान थालेको थियो। शवको अवस्थाले बलात्कारपछि हत्या गरिएको संकेत देखिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार, आत्तिकाका बाबु भारतको मनिहारीतर्फ गएका थिए भने आमा माइतीघर गएकी थिइन्। सन्तानलाई हजुरआमाको जिम्मा लगाएर बाहिर गएका बेला आत्तिका आफ्ना साना भाइसँग काका अनिषको कोठामा सुतेकी थिइन्।
त्यही रात मदिरा सेवन गरेका अनिषले भतिजीलाई कोठाबाट बाहिर लगेर बलात्कार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। त्यसपछि शव विद्यालय नजिकै फालेर उनी घर फर्किएका थिए।
शव विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ। घटनामा संलग्नताको पक्का आधार तयार गर्न मेडिकल र फरेन्सिक रिपोर्टको प्रतिक्षामा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, अनिष सरदारविरुद्ध हाडनाता करणी र कर्तव्य ज्यान मुद्दा दर्ता गर्न म्याद थप गरिएको छ। उनीविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।