मोरङमा प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

न्युजलय २१ जेठ २०८२, मङ्गलबार ०२:०५ मा प्रकाशित

विराटनगर । मोरङमा एकजना थुनुवाको मृत्यु भएको छ। 

अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेका थुनुवाको मृत्यु भएको हो । झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । 

श्रेष्ठलाई अभद्र व्यवहार मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा राखिएको थियो । उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीले अभद्र व्यवहार मुद्दा चलाउन जेठ १५ गते म्याद थप गरेर श्रेष्ठलाई हिरासतमा राखी अनुसन्धानको थप प्रक्रिया अघि बढाएको थियो ।  एक्कासी ज्वरो आउने, पेट दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि बिहान ९ः२० बजेतिर कोशी अस्पताल लगिएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार लागुऔषध सेवनकर्तासमेत रहेका श्रेष्ठ लामो समयदेखि परिवारको सम्पर्कमा नरहेको पत्ता लागेको छ ।