इटहरी । इटहरीस्थित जनता माविले कक्षा १० का विद्यार्थीका लागि सञ्चालन गरेको सःशुल्क कोचिङको आम्दानी र खर्च विद्यालयको सिस्टम बाहिर रहेको पाइएको छ ।
स्कुलले सञ्चालन गरिरहेको कोचिङबाट उठेको शुल्क विद्यालयको मुख्य खातामा नराख्ने गरेको पाइएको हो । यस्तै शिक्षकहरुलाई कोचिङको लागि दोहोरो सुविधा दिएकोसमेत आरोप लागेको छ ।
बिहान प्लस टुको समयमा अतिरिक्त सुविधा
विद्यालयले बिहानी कक्षा पढाउने शिक्षकहरुलाई अतिरिक्त पारिश्रमिक दिँदै आएको छ । व्यवस्थापन समितिले २०८१ साउन १ गतेदेखि नै लागु हुने गरी प्लस टु कक्षाका लागि प्रति पेरियड ८ हजार पाँच सय रुपैयाँ दिन थालेको थियो । त्यसअघि ८ हजार रुपैया दिने गरेको थियो ।
यस्तै, विशेष जिम्मेवारी बहन गर्ने भन्दै केही शिक्षकलाई मासिक तलबको व्यवस्था गरिएको थियो । जसअनुसार प्रधानाध्यापकले सरकारी तलबबाहेक थप ४५ हजार पाउने निर्णय गरिएको थियो । यसैगरी अन्य शिक्षकहरुको समेत मासिक पारिश्रमिक सेवा सुविधा निर्णय गरिएको थियो ।
त्यही समयमा कोचिङवापत थप पारिश्रमिक !
यसरी बिहानको समयमा काम गरेवापतको पारिश्रमिक दिइरहेकै समयमा विद्यालयले कोचिङ पढाएवापत थप पारिश्रमिक दिएको छ ।
२०८२ जेठ ११ गते बसेको प्रअ सिग्देलको अध्यक्षताको बैठकले कक्षा १०, सेक्टर २ लाई बिहान ८ः३० देखि १०ः१० बजेसम्मको लागि दुई पेरियड अनिवार्य कोचिङ कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसवापत पहिले नै बिहानी सत्रको लागि अतिरिक्त सेवा सुविधा लिइरहेका प्रधानाध्यापक सिग्देलसहित अन्य केही शिक्षकले थप रकम लिने निर्णय गरिएको थियो ।
सिग्देलले कोचिङको अनुगमनवापत आफूलाई मासिक १५ हजार रुपैया छुट्याएका थिए । पहिले दिएकै सेवासुविधामा थप हुने गरी यो सुविधा लिएको प्रअ सिग्देलले स्वीकार गरेका छन् । साथै दुई महिनापछि आफूले भने रकम लिन छाडेको स्वीकारेका छन् । ‘कोचिङको व्यवस्थापन अर्को पाटो भएकोले लिन थालेको थिएँ, आलोचना हुन थालेपछि मैले लिन छाडेँ,’ उनले भने ।
बिहानको अतिरिक्त सेवा सुविधा लिएका अन्य केही शिक्षकहरुले पनि कोचिङवापत पैसा लिएका छन् ।
यसरी बिहानकै समयमा काम गर्नु र पैसा लिनु गलत भएको भन्दै आलोचना हुन थालेको छ । तर प्रअ सिग्देलले भने व्यवस्थापन समितिले दिने भनेको सुविधा बिहानी सत्रको तिन वटा कक्षाको मात्र भएको दावी गरेका छन् । ‘त्यसबाहेकको समय व्यवस्थापन गरेर पढाउँदा त्यो अनुचित होइन,’ उनले भने ।
काँटिदैन कर, बचेको पैसा वर्षको एकमुष्ठ जम्मा
यसरी कोचिङको लागि थप पारिश्रमिक लिनेहरुको पारिश्रमिकमा कर भने काटिएको पाइँदैन । नियमानुसार यस्तो रकममा १५ प्रतिशत कर कट्टा गरेर राजस्व बुझाउनुपर्ने हुन्छ ।
त्यसो त कोचिङको आम्दानी र खर्च नै विद्यालयको मुख्य सिस्टमबाट बाहिर रहेको खुलेको छ ।
अनिवार्य कोचिङवापत विद्यालयले विद्यार्थीसँग वार्षिक ८ हजार रुपैया लिन्छ । तर कोचिङवापत लिएको शुल्क बैंक दाखिला गरिँदैन भने विद्यालयको मुख्य हिसाब खातामा पनि देखाइँदैन । उठाएको शुल्कबाट शिक्षकहरुलाई पारिश्रमिक बाँडेर बाँकी रहेको पैसा वर्षको अन्तीममा विद्यालयको खातामा जम्मा गर्ने गरिएको सिग्देल बताउँछन् । विद्यार्थी र शिक्षकलाई राहत होस् भन्ने उद्देश्यले यसो गरिएको प्रधानाध्यापक सिग्देलको भनाई छ ।
‘पाँच सय रुपैयाभित्रबाट कर काटेर भुक्तानी गर्दा शिक्षकलाई पारिश्रमिक थोरै हुने अनि पाँच सय रुपैयाभन्दा बढी पारिश्रमिक दिँदा विद्यार्थीमा आर्थिक भार पर्ने हुँदा पहिलेदेखि नै हामीले यसरी नै सेवा सुविधा दिँदै आएका छौं,’ उनले भने, ‘बचेको पैसा विद्यालयको खातामा वार्षिक रुपमा जम्मा गर्छौं, अघिल्लो वर्षको पनि जम्मा गरिसक्यौं ।’
यस्तै विद्यालयले विद्यार्थीलाई कोचिङको शुल्क लिँदा छुट्टै बिल दिने गरेको छ । कोचिङ र विविध दुई शीर्षक राखिएको बिल भने अचम्म तरिकाले काटेको पाइएको छ । अधिकांश बिल काट्दा विद्यालयको नाम बिल बुकमै राखेर त्यसभन्दा तलको भाग मात्र काटेर दिने गरेको पाइएको छ । यसको कारणबारे जिज्ञासा राख्दा सिग्देलले यसरी काटिएको बारेमा आफूलाई थाहा नभएको बताए ।