जनता बहुमुखी क्याम्पस इटहरीले गर्यो भारतका दुई विश्वविद्यालयसँग सम्झौता

न्युजलय ३० असार २०८२, सोमबार ०२:१५ मा प्रकाशित

इटहरी । जनता बहुमुखी क्याम्पस इटहरीले भारतका दुई प्रतिष्ठित विश्वविद्यालयहरूसँग पाँच वर्षे शैक्षिक सम्झौता गरेको छ। असार २४ र २५ गते भारतका दुई विश्वविद्यालयसँग सम्झौता गरिएको हो ।

क्याम्पसले उक्त सहकार्यबारे सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो।

कार्यक्रममा प्रस्तुतकर्ता तथा सम्झौताको मध्यस्थकर्ता डा. वेणुप्रसाद सिटौलाले करिब एक वर्षअघि क्याम्पसको तर्फबाट भारतीय विश्वविद्यालयहरूसँग सम्झौता पहल गर्ने जिम्मेवारी पाएका थिए।

उनले सात प्रमुख विश्वविद्यालयमा प्रस्ताव पठाएपनि पाँच वटा विश्वविद्यालयले सहकार्य सहमति जनाएका थिए। तीमध्ये हरियाणाको बाबा मस्तनाथ विश्वविद्यालय र राजस्थानको श्री जे जे टी विश्वविद्यालयसँग औपचारिक सम्झौता भएको हो ।

उक्त सम्झौताले विद्यार्थी र प्राध्यापक आदान–प्रदान, संयुक्त अनुसन्धान परियोजना, अन्तर्राष्ट्रिय सेमिनार तथा कार्यशाला, सांस्कृतिक तथा सामाजिक सहकार्य लगायत क्षेत्रलाई समेटेको छ ।

उक्त सम्झौताले संयुक्त अनुसन्धान तथा प्रकाशन, युथ इनोभेसन समिट, पाठ्यक्रम सुधार, सांस्कृतिक तथा शैक्षिक सहकार्य, दीगो विकास कार्यक्रमहरूलाई प्राथमिकता दिनेछ।

सम्झौताका लागि जनता बहुमुखी क्याम्पसको तर्फबाट सञ्चालक समितिका अध्यक्ष विकास केसी, भर्ना संयोजक चन्द्र प्रसाद भट्टराई, सहायक क्याम्पस प्रमुख राजन भट्टराई, स्ववियु सभापति सहदेव काफ्ले, बीआइसीटी विभाग प्रमुख मन्दीप भट्टराई र डा. सिटौला सहभागी थिए।

खासगरी ‘नेपाल–भारत शैक्षिक शिखर सम्मेलन’को तयारीसमेत गरिने सञ्चालक समिति अध्यक्ष केसीले बताए । कतिपय योजनाहरू रहेपनि विद्यार्थीको शुल्कले मात्रै धान्न गाह्रो छ, उनले भने, क्याम्पसले पहिलोपटक अन्तराष्ट्रियस्तरको सम्झौता गरेको छ।