इटहरीमा रोबोटको प्रदर्शनी हुने

न्युजलय १५ फाल्गुण २०८१, बिहिबार ११:०२ मा प्रकाशित

इटहरी । इटहरीमा रोबोट र प्रविधिसम्ब्न्धि प्रदर्शनी ‘कोशी मिनी यन्त्र ३.०’ गरिने भएको छ । इटहरी १९ मा रहेको फुजिसन सगरमाथा बोर्डिङ स्कुलमा फागुन १८ र १९ गते कार्यक्रम हुनेछ । 


कार्यक्रमले विद्यार्थीहरूलाई प्रविधि र नयाँ विचारमा सहभागि गराउनुका साथै प्रविधिमा आधारित उद्यमशीलता र अनुसन्धानलाई प्रवद्र्धन गर्ने आयोजक संस्था रोबर्टस एसोसिएसन अफ नेपाल इस्टका अध्यक्ष बिनिल राज अधिकारीले जानकारी दिए ।


कार्यक्रमले विद्यार्थीहरूलाई रोबोटिक्स, कृत्रिम बुद्धिमता एआइ , इन्टरनेट अफ थिङ्स एलओटि, एम्बेडेड सिस्टम, प्रविधि–आधारित उद्यमशीलतासम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै प्रतिस्पर्धात्मक अवसरसमेत प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा रोबो सॉकर प्रतियोगिता अन्तर्गत विद्यार्थीहरूले आफ्ना रोबोटहरू प्रयोग गरी फुटबल खेल्नेछन् । यसका साथै विद्यालय, कलेज तथा स्टार्टअपहरूले आफ्ना प्रविधि परियोजनाहरू समावेश गरी प्रदर्शनी गर्नेछन् भने, रोबोटिक्स, एलओटि, एआइ र अन्य प्रविधिसम्बन्धी कार्यशाला र तालिमसमेत आयोजना गरिने फुजिसन सगरमाथा बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक राकेश श्रेष्ठले जानकारी दिए ।


यस वर्षको विशेष आकर्षण भनेको नेपालकै पहिलो रोबोट कुकुर साइबरडगको लाइभ डेमो हुनेछ । नेपालमा प्रविधि र रोबोटिक्सको क्षेत्रमा विद्यार्थीहरूलाई सक्षम बनाउन कोशी मिनी यन्त्र ३.० ले नयाँ सोच र प्रविधिमैत्री समाज निर्माणमा टेवा पुर्याउने विश्वास लिइएको प्याप्सन इटहरी अध्यक्ष सूर्यमणि निरौलाले बताए ।