इटहरी । जेन्जी आन्दोलनका क्रममा कार्यालय भवन जलेपछि इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्यहरुले भुईमा बसेर कार्यपालिका बैठक सम्पन्न गरेका छन् ।
आगलागीबाट कार्यकक्षहरुसहित बैठककक्षसमेत जलेपछि खुला आकाशमुनी भुईमा बसेर बैठक गरिएको हो । उपमहानगरपालिकाका सेवाहरुलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरिएको प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।
आपतकालीन अवस्थामा पनि नगरवासीका लागि सेवा अवरुद्ध नहोस् भन्ने विषयमा बैठक केन्द्रित थियो । बैठकमा बोल्दै कार्यपालिका सदस्यहरुले त्रिपाल टाँगेर पनि सेवा निरन्तरता दिनुपर्ने बताएका थिए । यस्तै केहीले भने त्रासको वातावरण अझै रहेको, कागजपत्रहरु जल्दा सेवा दिन अझै ढिलाइ हुने अवस्थामा जनआक्रोश अझै बढ्ने जोखिम समेत रहेको बताएका थिए ।
कार्यपालिका सदस्यहरुले जेन्जीको नाममा आतंक फैलाइएको बताउँदै भ्रष्टाचार कसैले गरे प्रमाणसहित पेश गर्न आग्रह गरेका थिए ।
मेयर हेमकर्ण पौडेलले मृत्यु भएका दुई जना युवाको मृत्युले दुःखी बनाएको बताए । साथै उनले जेन्जी आन्दोलनका नाममा सरकारी संरचनाहरु ध्वस्त बनाउनेलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने धारणा राखे । त्यसको लागि प्रमाणहरु उपलब्ध गराउन आग्रह गरे । उनले आपराधिक मनोविज्ञानबाट केही मानिसहरु अघि बढेकोले तिनलाई कारवाही हुने बताए ।
उनले शाखा र वडा सञ्चालन गर्न चाहिने न्युनतम सामानहरुको सुची ४ गतेभित्र उपलब्ध गराउन आग्रह गरे । ‘बाँस लगाएर हुन्छ कि प्लाष्टिक बेरेर हुन्छ, काम सुरु गरौं,’ उनले भने, ‘त्यसबिचमा सरसफाई गरौं ।’