इटहरीका ६ दलले बुझाए उपमहानगरपालिकालाई खबरदारीपत्र

न्युजलय २७ साउन २०८२, सोमबार ०५:०४ मा प्रकाशित

इटहरी । इटहरीका ६ वटा राजनीतिक दलहरुले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई खबरदारीपत्र बुझाएका छन् । 


कार्यालयमा सुशासन कायम नभएको साथै जनहितविपरीतको क्रियाकलापहरु बढ्दै गएको भन्दै खबरदारी पत्र बुझाएको हो । मेयर हेमकर्ण पौडेल र उपमेयर संगीताकुमारी चौधरीलाई संयुक्तरुपमा पत्र बुझाइएको हो । 


खबरदारी पत्र बुझाउने दलहरूमा नेपाल कम्युनिष्ट (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच (संघीय लिम्बुवान प्रान्तीय नेपाल), र संयुक्त पहिचानवादी मोर्चा इटहरी रहेका छन् । 


समयमा बजेट पारित नगरेको, सार्वजनिक सुनुवाइ नगरेको, जनविरोधी कर नीति लागू गरेको, बेरुजु रकम उच्च रहेको भन्दै यी सवालमा तत्काल सुधारको माग राजनीतिक दलहरुले गरेका छन् । 


नेकपा (माओवादी केन्द्र) इटहरी अध्यक्ष राजकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी इटहरी अध्यक्ष आकाश हाङ सुब्बा, नेकपा एकीकृत समाजवादी इटहरी संयोजक–गौरीमान परियार, नेकपा इटहरी सचिव–नन्दु सी, संयुक्त पहिचानवादी मोर्चा इटहरी संयोजक राजेन्द्र दाहाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच नेपाल इटहरी (संघिय लिम्बूवान प्रान्तीय नेपाल) अध्यक्ष भिमकुमार लिम्बूले पत्र बुझाएका हुन् । 


स्थानीय सरकार सञ्चालन ऐन र संविधानको मर्मअनुसार जिम्मेवार तथा जवाफदेही शासन प्रणाली स्थापित गर्नु अत्यावश्यक रहेकोमा इटहरी उपमहानगरपालिका कार्यालयमा त्यसको विपरित काम भएको भन्दै ६ राजनीतिक दलहरूले तत्काल सुधार गरि सुशासन कायम गर्न माग गरेका छन् । कुशासनका गतिविधिहरू दोहोरिए शान्तिपूर्ण तरिकाबाट चरणबद्ध आन्दोलन गर्ने खबरदारी पत्रमा हस्ताक्षरकर्ता ६ राजनीतिक दलहरुले बताएका छन् ।


खबरदारीपत्र बुझ्दै मेयर पौडेलले साउन ३० गतेभित्र बजेट आउने आश्वासन दिए ।


खबरदारीपत्र बुझाएर बाहिर निस्किएका राजनीतिक दलहरुले नगरपालिका अगाडी खबरदारी सभासमेत गरेका थिए । सभामा बोल्दै सहभागिहरुले इटहरीको सबै क्षेत्रमा समस्या देखिएको बताउँदै तुरुन्त सुधारका काम गर्न माग गरे । 


पटक पटक आफूहरुले ध्यानाकर्षण गराएपनि मिति सार्दै र आश्वासन देखाउँदै इटहरी सरकार अघि बढेको बताउँदै यो पटक पनि वेवास्ता गरे चरणबद्ध आन्दोलन चर्काउने चेतावनी दिए ।