सुनसरी दुर्घटनामा मृतकको संख्या चार पुग्यो, २२ जना घाइते (नामसहित)

न्युजलय २७ साउन २०८२, सोमबार १२:२४ मा प्रकाशित

इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ मा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी घाइते थप एक जनाको ज्यान गएको छ । बस र माइक्रो ठक्कर खाँदा भएको उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या चार जना पुगेको छ।


जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत्यु हुनेमा सप्तरीको मधावे गाउँपालिका ६ बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीको कोशी गाउँपालिका ६ बस्ने अन्दाजी ७० वर्षीय लक्ष्मण सदा, विराटनगर बस्ने अशोक यादव र अन्दाजी ४५ वर्षीया महिला छिन् । उनको पहिचान खुलेको छैन । मृतक सबै माइक्रोमा सवार यात्रु हुन् । 


बिहान ८ बजेतिर राजविराजबाट विराटनगर आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस र काँकडभिट्टाबाट दिक्तेल जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।


घटनामा घाइते भएकाहरूलाई न्यूरो अस्पताल विराटनगर, जिल्ला अस्पताल इनरुवालगायतमा उपचार भइरहेको छ । 


घाइते हुनेहरुमा सुन्दरहरैँचा नगरपालिका ९ बस्ने अम्बिका राई, खोटाङको रावाबेसी गाउँपालिका २ की निरुता परियार, सोही ठाउँका ३८ वर्षीय निर्मल परियार, सप्तरी मन्धेव गाउँपालिका ६ का रवीन्द्रप्रसाद मण्डल, उदयपुरको चौदण्डिगढी नगरपालिका ५ का ५० वर्षीय रेनुका श्रेष्ठ, झापाको शिवसतासी नगरपालिका ५ का ३८ वर्षीय खगेन्द्र थापा, भद्रपुर ९ का ५३ वर्षीय सन्तोष खत्री, उदयपुरको बेलका नगरपालिका १ का २० वर्षीय दीपक विश्वकर्मा, इलामको चुलाचुली ३ का ३६ वर्षीय सविन राई, सप्तरी धिकुति गाउँपालिका ६ का रवीन्द्र मेहता, सप्तरीकै गोइठी गाउँपालिका ३ का ६८ वर्षीय जिवछ महात्मा, खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० का ८४ वर्षीय नेत्रलाल गिरी, उनका छोरा ३९ वर्षीय केदार गिरी घाइते भएका छन्।

उनीहरूको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा सुनसरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, झापाको अर्जुनधारा नगरपालिका १ साजनटार का २० वर्षीय सत्य राई, सप्तरीको राजविराज नगरपालिका ६ का १० वर्षीय रुद्र राय, विराटनगर महानगरपालिका १० का ४८ वर्षीया शोभा यादव, सप्तरीकै राजविराज १२ का ४४ वर्षीय प्रमोद रजक, सप्तरीकै तिलाठी गाउँपालिका ५ बस्ने २२ वर्षीय रवि राय, राजविराज २ का २४ वर्षीय भोला यादव, राजबिराजकै तेतरीगाछी बस्ने ३५ वर्षीय प्रदीप यादव, सुनसरीको कोशी गाउँपालिका ६ बस्ने ६० वर्षीय जोगिन्द्र दास, सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ बस्ने ३० वर्षीया अमृता राय घाइते भएका छन् । उनीहरूको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।


माइक्रोका सहचालक सप्तरीको राजविराज ४ बस्ने २१ वर्षीय सन्तोष बास्तोलाको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ ।