कार्यसम्पादन मूल्याङ्कनमा भोजपुर जिल्लाकै पहिलो बन्यो हतुवागढी गाउँपालिका

न्युजलय ४ फाल्गुण २०८१, आइतबार ०८:०७ मा प्रकाशित

घोडेटार । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार हतुवागढी गाउँपालिका भोजपुर जिल्लाकै उत्कृष्ठ स्थानीय तह बनेको छ । 


आयोगले विभिन्न १७ वटा सूचकको आधारमा सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाको नौ स्थानीय तहमध्ये पहिलो बनेको हतुवागढीले ६५.२ प्रतिशत अंक प्राप्त गरेको छ ।


त्यस्तै रामप्रसाद राई गाउँपालिकाले ६४.५, पौवादुङ्मा गाउँपालिकाले ६२.४, भोजपुर नगरपालिकाले ६२.१, आमचोक गाउँपालिकाले ५९.८, षडानन्द नगरपालिकाले ५८.८, टेम्केमैयुङ गाउँपालिकाले ५७.९, अरुण गाउँपालिकाले ४९.२ र साल्पासिलिछो गाउँपालिकाले ४५.४ प्रतिशत अंक प्राप्त गरेका छन् ।  


विनियोजित बजेट, त्यसको कार्यान्वयन, राजस्व संकलनको लक्ष्य र प्रगति लगायतका सूचकहरूमा आयोगले मूल्यांकन गर्ने व्यवस्था छ ।


पालिकाले गरेको खर्च, बेरूजु, लेखा परीक्षणले औँल्याएको बेरूजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेकोलगायतका सूचकका आधारमा मूल्यांकन गर्ने गरिएको छ । 


यस्तै समय सीमाभित्र बजेट ल्याए नल्याएको, बजेट पास गरे–नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए नदिएको लगायतका आधारमा अनलाइन पोर्टलबाट अपलोड गरी सोही आधारमा अङ्क प्राप्त गर्ने प्रावधान छ ।