आफ्नै सामाजिक सञ्जाल सुरु गर्दै ट्रम्प

न्युजलय ५ कार्तिक २०७८, शुक्रबार ०८:२१ मा प्रकाशित

काठमाडौं । ठुला सामाजिक सञ्जाल कम्पनीले आफूलाई प्रतिबन्ध लगाएपछि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल सुरु गर्ने भएका छन् । ट्रुथ नाम दिइएको सामाजिक सञ्जालले फेसबुक र ट्विटरजस्ता ठुला सामाजिक सञ्जालसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ । 


आफ्नो कम्पनीको नीति विपरीत प्रयोग गरेको भन्दै फेसबुक र ट्विटर दुवै सामाजिक सञ्जालले ट्रम्पलाई आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाएका छन् । 


ट्रम्पको कम्पनी ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप र अर्को एक कम्पनी मिलेर यो सामाजिक सञ्जाल सुरु गर्न लागेका हुन् । ‘हामी यस्तो युगमा बाँचेका छौं जहाँ तालिबानहरूको ट्विटरमा बलियो उपस्थिति छ तर हाम्रो प्रिय अमेरिकी राष्ट्रपतिको मुख थुन्न खोजिएको छ । यो स्वीकार्य छैन,’ आफ्नो लिखित प्रेस विज्ञप्तिमा ट्रम्पले भनेका छन् । 


‘चाँडै नै ट्रुथमार्फत् म आफ्नो पहिलो ट्रुथ सार्वजनिक गर्न म निकै उत्साहित छु । सबैलाई आवाज दिने उद्देश्यसहित यो स्थापना भएको हो । चाँडै नै ट्रुथमार्फत आफ्नो विचार बाँड्न र ठुला कम्पनीसँग लड्नको लागि म उत्साहित छु,’ ट्रम्पले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


यो सामाजिक सञ्जालको बेटा (परीक्षण) भर्सन आगामी महिना सार्वजनिक हुने बताइएको छ । सन् २०२२ को सुरुवातमा यो सामाजिक सञ्जाल पूर्ण रूपमा सञ्चालनमा आउनेछ ।