सुनसरीमा होलीलाई मर्यादित बनाउन प्रशासनको आग्रह

न्युजलय २९ फाल्गुण २०८१, बिहिबार ११:२८ मा प्रकाशित

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले फागु पूर्णिमा होलीलाई सुरक्षित र मर्यादित बनाउन आग्रह गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै होली पर्वलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी सूचनाअनुसार कसैको इच्छा विपरीत जबरजस्ती रङ्ग नलगाउन, नमेटिने रङ्गको प्रयोग नगर्न तथा सार्वजनिक स्थानमा अमर्यादित गतिविधि नगर्न आग्रह गरिएको छ ।

होलीको नाममा जथाभाबी लोला हान्ने, हिलो छ्याप्ने, बोतलका टुक्रा प्रयोग गर्ने, सार्वजनिक यातायातमा अवरोध पुर्‍याउने र समाजमा अशान्ति फैलाउने कार्य नगर्न अनुरोध गरिएको छ।

यस्ता गतिविधिले सामाजिक सद्भावमा असर पार्न सक्ने भएकाले नागरिकहरूलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ।

साथै, नियम उल्लङ्घन गर्ने जोसुकैलाई कानुनी कारबाही गर्ने चेतावनी पनि दिइएको छ।