उदयपुरमा चट्याङ लागेर एक बालकको मृत्यु

न्युजलय २३ बैशाख २०८२, मङ्गलबार ०३:२३ मा प्रकाशित

उदयपुर। उदयपुरको कटारी नगरपालिका–८ का एक बालकको चट्याङ लागेर ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार सोमबार दिउँसो घरबाट बाख्रा चराउन  जंगल गएका कटारी–८ का मान बहादुर मगरका १२ वर्षका छोरा चित्र बहादुर मगरको हावा हुरी पानीसहित परेको चट्याङ  लागेर ज्यान गएको हो  ।

बाख्रा चराउन गएका चित्र बहादुर साँझ घरमा नआएको र बाख्रा भने घरमा आएपछि चित्र बहादुरको  खोजी शुरु गरेका थिए । खोजी गर्ने क्रममा मंगलबार विहान जंगलमा मृत अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले मंगलबार विहान खबर पाएपछि घटनास्थलमा प्रहरी पुगेको र घटनास्थलको मुचुल्का गरी  मृतकको लासलाई प्रादेशिक अस्पताल कटारीमा पोष्टमार्टमकालागि ल्याइएको बताइएको छ ।