इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी, अनिश्चितकालिन कर्फ्यु आदेश

न्युजलय २३ भदौ २०८२, सोमबार ०४:५० मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाको मेयर भवनमा आगजनी भएको छ । मेयर हेमकर्ण पौडेलको कार्यकक्षका साथै जिन्सी शाखामा आगलागी गरिएको हो।


त्यसअघि प्रदर्शनकारीहरुले उपमहानगरपालिका आंशिक कब्जामा लिएर तोडफोड गरेका थिए । उनीहरुले त्यहाँ रहेका विभिन्न कोठाका झ्याल, गाडीहरुमा तोडफोड गरेका थिए । यस्तै कार्यकक्षहरुबाट ल्यापटप, प्रिन्टर लगायतका सामग्रीहरू यत्रतत्र फाल्ने र जलाउने गरेका थिए । उपमहानगरपालिकाको दमकल चल्नै नसक्ने अवस्थामा पुगेको छ । प्रहरीले उपमहानगरपालिका कार्यालय आफ्नो नियन्त्रणमा लिएको छ तर आगो नियन्त्रणमा लिन सकिएको छैन ।


यसैबीच, सुनसरी प्रशासनले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धम्रेन्द्र कुमार मिश्रका अनुसार उत्तरतर्फ नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकसम्म, पूर्वतर्फ मिलन चोकदेखि जुट विकास क्षेत्रसम्म, दक्षिणतर्फ अख्तियारको कार्यालयदेखि साथी पेट्रोल पम्प हुँदै बसपार्कसम्म र पश्चिमतर्फ कंलकी मोडदेखि जनता बस्तीसम्म आदेश लागू गरिएको छ।इटहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । 


सोमबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नहुँदासम्म लागु हुने गरी जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु आदेश जारी गरेको हो ।


प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले चार किलोमिटरभित्रको क्षेत्रमा कर्फ्यु लागु गरिएको जानकारी दिएका छन् । आदेशअनुसार सो क्षेत्रमा सभा, जुलुस, प्रदर्शन, बैठक, घेराउ वा भीडभाड गर्न पाइने छैन ।


कर्फ्यु क्षेत्रको सिमा पूर्वमा मिलन चोकदेखि जुट विकास क्षेत्र, पश्चिममा करफोक मोडदेखि जनता बस्ती, उत्तरमा हलगडा नेपाली सेनाको ब्यारेकदेखि पारवाहा चोक र दक्षिणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चोक हुँदै वन पार्क क्षेत्रसम्म फैलिएको छ ।

प्रशासनले सर्वसाधारणलाई शान्ति सुरक्षाको सुनिश्चितताका लागि कर्फ्यु आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।