उपमेयरको अपमान भएको भन्दै थारुसम्बद्ध संघसंस्थाले गरे कारवाहीको माग

न्युजलय १५ माघ २०८१, मङ्गलबार ०९:३९ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाकी उपमेयरको मानमर्दन भएको भन्दै थारुसम्बद्ध संघसंस्थाले कर्मचारीलाई कारवाहीको माग गरेको छ । 


थारु कल्याणकारिणी सभा, थारु महिला सभा, थारु विद्यार्थी सभा, थारु विद्यार्थी समाज, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ र ग्रामथान संरक्षण समिति सुनसरीले विज्ञप्ती जारी गर्दै कारवाही नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।


चौधरी इमान्दार, सक्षम र निष्पक्ष महिला जनप्रतिनिधी भएको र उनीप्रति अपहेलना, लान्छाना र असभ्य व्यवहार भएको भन्दै आपत्ति जनाइएको छ । जनतालाई सेवा दिनुपर्ने कर्मचारीहरुले सर्भर बन्द गरी जनतालाई दुःख दिएको र सो विषयमा प्रश्न उठाउने उपमेयर चौधरीलाई लान्छाना लगाइएको भन्दै विरोध गरेको छ । 


विज्ञप्तीमा भनिएको छ, "अति आवश्यक सरबर इटहरी उपमहानगरपालिका प्रशासन शाखाका प्रशासन प्रमुख संजिव कुमार खड्काले कोहि कसैलाई कुनै जानकारी नगरी आफुखुशी बन्द गरी हजारौँ सेवाग्राही जनताको काम ठप्प गराई दुःख दिने नियतले गरेको कार्यमा प्रश्न उठाउँदा उल्टै कार्यवाहक नगर प्रमुख  संगिता कुमारी चौधरीलाई तपाई २ दिनको जननिर्वाचित म लोकसेवा आयोगबाट पास गरेको स्थायी अधिकृत के गर्न सक्नु हुन्छ गर्नुस् जस्ता असभ्य र अमर्यादित व्यवहार देखाई अपमानजनक व्यवहार गर्ने र आफ्ना गतिबिधीलाई ढाकछोप गर्न जनप्रतिनिधीलाई आरोप लगाउने कार्य पूर्ण रुपमा अस्विकार्य छ ।"


कर्मचारी संगठनहरुले उल्टै विज्ञप्ती जारी गरेको र कर्मचारीतन्त्र हावी हुन खोजेको संघसंस्थाहरुको आरोप छ । कर्मचारीलाई निलम्बन गर्न र जनतालाई दुःख दिने कर्मचारीहरुको मनपरी रोक्न माग गरिएको छ ।