विराटनगर । केही महिनाअघि धरानका मेयर हर्क साम्पाङले बाहिर जाँदा उपमेयरलाई कार्यवाहक नदिएको विषयले खुबै चर्चा पायो । उनले वडाध्यक्षलाई कार्यवाहक बनाएका थिए । त्योभन्दा पनि बढी चर्चा चाहिँ किन कार्यवाहक नदिएको भन्ने प्रश्नमा साम्पाङले दिएको उत्तरले पायो । उनले भनेका थिए, उपमेयरले मलाई शुभयात्रा पनि भनेन । शुभयात्रा भन्नुपर्दैन ? शुभयात्रा पनि नभन्नेलाई कसरी कार्यवाहक दिने ?
त्यस्तै घटना मोरङको ग्रामथान गाउँपालिकामा दोहोरिएको छ । गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएर चीन भ्रमणमा जान लागेका छन् । मंगलबारबाट ९ दिनका लागि चीन भ्रमणमा जाने भएपछि सोमबार माझीले वडा नम्बर ३ का वडाध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहक जिम्मेवारी दिएका हुन् ।
उनले उपाध्यक्ष गुणवतीदेवी थारुलाई कार्यवाहक दिएनन् । कारण सोध्दा उनको गुनासो थियो, ‘उहाँले बधाई पनि दिनुभएन, शुभकामना पनि दिनुभएन । आज बैठक (बिदाइ) थियो, आउनुभएन ।’
पालिका उपाध्यक्ष थारुले भने बिदाई बारे थाहा नपाएको बताएकी छिन् ।
उपनिर्वाचनबाट निर्वाचित अध्यक्ष माझी र उपाध्यक्षबिच सम्बन्ध राम्रो छैन । कार्यवाहक पाएका भगत र अध्यक्ष माझी दुवै नेकपा माओवादी केन्द्रका हुन् ।