बङ्गलादेशको मन्दिरमा तोडफोड र आगजनी हुँदा दुई हिन्दुको मृत्यु

न्युजलय ३२ असोज २०७८, सोमबार ०७:४७ मा प्रकाशित

काठमाडौं । बङ्गलादेशमा दुई जना हिन्दु धर्मालम्बी पुरुषको मृत्यु भएको छ । त्यहाँ मन्दिरहरु तोडफोड र आगजनी गरिएको छ ।


हिन्दुको दुर्गा पूजाको समयमा घटना भएको हो । बङ्गलादेशको पूर्वी जिल्ला कुमिल्लामा हिंसा भड्कदा घटना भएको छ ।


मिडियाले हिन्दु धर्मालम्बीले दुर्गा पूजाको समयमा कुरानलाई घुँडामा राखेको तस्बिर भाइरल बनाएपछि हिंसा भड्किएको थियो । आक्रोशित भीडले हिन्दु मन्दिरहरुमा आक्रमण गरेको थियो ।


आक्रोशित मुस्लिम समुदायको आक्रमणबाट दुई जना हिन्दु पुरुष मारिएका छन् । २ सयको भीडले दक्षिणी शहर बेगमगन्जमा हिन्दु कमिटीका सदस्यहरुलाई कुटेर र धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । उनीहरु १० दिनको दुर्गा पूजा आयोजना गर्दै थिए ।


शनिबार अर्का हिन्दु पुरुषको शव भेटिएको थियो । हिन्दुहरुमाथि आक्रमण हुन थालेपछि बङ्गलादेशमा त्रास बढेको छ । बङ्गलादेशको साँढे १६ करोड जनसंख्यामा हिन्दुहरु १० प्रतिशत छन् । यो झण्डै दुई करोड हुन आउँछ ।