स्थानीय माग्छन् फ्लाइओभर, आयोजना भन्छ, सम्भव छैन (भिडियो)

हिमाल दाहाल १४ असार २०८२, शनिवार १०:०२ मा प्रकाशित

इटहरी । पुर्वपश्चिम राजमार्गलाई ६ लेनमा विस्तार गर्ने काम यतिखेर धमाधम भइरहेको छ । विभिन्न प्याकेजमा ठेक्का लागेको यो सडक अन्तरदेशीय सडकको एउटा हिस्सा हो ।

कोशी प्रदेशमा झापाको सीमावर्ती नगर काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५ किलोमिटर सडक विभिन्न प्याकेजमा ठेक्का लागेर विस्तारको काम भइरहेको छ । यहाँ पाँच वटा प्याकेजमा काम भइरहेको छ । जसमा तीन वटा रोडका प्याकेज छन् भने दुई वटा पुलका प्याकेज छन् । 

त्यसमा पनि सीतापुरीदेखि पश्चिम ५०.७ किलोमिटरको काम हेर्नको लागि इटहरीमा छुट्टै कार्यालय राखिएको छ । यस कार्यालयले रोडका दुई वटा प्याकेज र एउटा पुलको प्याकेज हेर्छ । तीन सय मिटरभन्दा लामा पुलको छुट्टै प्याकेज छ भने तीन सय मिटरभन्दा साना पुल सडककै प्याकेज अन्तर्गत पर्छ । यस कार्यालयले हेर्ने तीन सय मिटर माथिका पुलहरुमा रतुवा खोला, लोहन्द्रा खोला र बक्राहा खोलाका पुल पर्छन् । बाँकी तीन वटा पुल झापाको अर्को कार्यालयले हेर्छ ।

तीन सय मिटरभन्दा साना ३१ वटा पुलहरु इटहरी कार्यालयअन्तर्गत सडक प्याकेजभित्रै समेटिएका छन् । 

कतिपय ठाउँमा कालोपत्रे नै सुरु भइसकेपनि यो राजमार्गले भेट्ने पुर्वको सबैभन्दा ठूलो शहर इटहरी चोकमा भने सडक विस्तार अझै सुरु हुन सकेको छैन । 


ओभरपास कि फ्लाइओभर ?

खासगरी इटहरीको बुढी खोलाको पुलदेखि पुर्व ट्राफिक चोकसम्ममा बन्ने तीन वटा ओभरपासको ठाउँमा पिल्लर गाडेर फ्लाइ ओभर बनाउनुपर्नेमा स्थानीयको जोड छ । अहिले बन्न लागेको बाँध माथि पुल जस्तो ओभरपास हो । जसलाई आर इ वाल भनिन्छ । काठमाडौको ग्वार्कोमा त्यस्तै प्रकृतिको ओभरपास बनेर प्रयोगमा आइसकेको छ ।

तर त्यसको साटो पिल्लर गाडेर पुल जस्तै फ्लाइ ओभर बनाउँदा सुन्दरता कायम हुने र फ्लाइ ओभर तलको भाग पार्किङ र अन्य प्रयोजनमा प्रयोग गर्न सकिने विचारहरु व्यक्त भइरहेका छन् । तर आयोजना सुरु नै भइसकेको र त्यसमा पनि मुख्य ऋण दाता एडीबी भएकोले डिजाइनमा ठूलो परिवर्तन हुने कुरामा काँकडभिट्टा लौकही सडक आयोजना कार्यालयका इन्जिनियर पल्लब श्रेष्ठ भने त्यती सम्भव देख्दैनन् । 

उनका अनुसार ओभरपास बनाउन ३० करोड हाराहारी खर्च लाग्छ भने त्यही ठाउँमा पिल्लरसहितको फ्लाइ ओभर बनाउँदा १३ अर्ब लाग्छ । 'यसको निर्णय एडीबीले गर्छ, तर विवादको बिचमा एडीबीले काम गर्र्दैन, बरु स्थगित गर्छ,' उनी भन्छन्, 'त्यसैले यो त्यती पोसिबल नहोला ।'

ओभरपासले बजारको व्यापारमा प्रतिकुल प्रभाव पार्ने वा बजार ठप्प पार्ने भन्ने कुराहरु सही नभएको उनी बताउँछन् । स्पीडमा पुर्व पश्चिम गुड्ने सवारी साधनको लागि मात्र ओभरपास बनाइन लागिएको हो ।

'ओभरपास जम्मा २४ मिटरमा मात्र बन्ने हो, त्यसको दायाँ बायाँ १३ १३ मिटरमा लोकल सवारी साधन गुड्नलाई सर्भिस लेन, साइकल लेन, फुटपाथ आदि पनि बन्छन्,' उनी भन्छन्, 'फेरी त्यती अग्लो हुने पनि होइन । ७ मिटर जति मात्र अग्लो हुने हो ।'

उनका अनुसार भारतका अधिकांश स्थानमा ओभरपास नै बनाइएको छ । सस्तो र बलियो भएकोले यो तरिका अपनाइएको हो । उनी भन्छन्, हाम्रो जम्मा उद्देश्य क्रस गर्न मात्र भएकोले ओभरपास भए पुग्छ, सिधै अर्को शहरमा जानको लागि मात्र फ्लाइ ओभर चाहिने हो । 


एडीबीको ऋण भएकैले घरधनीलाई क्षतीपूर्ती

पछिल्लो समयमा इटहरी चोकका घरधनीहरुले सडक चार फिट साँघुरो बनाउनसमेत माग गरेका छन् । दुई तिर दुई दुई फिट सडक साँघुरो हुने हो भने कतिपय घरको पिल्लर भत्काउनुनपर्ने उनीहरु बताउँछन् । यही माग लिएर उनीहरु आयोजनाको कार्यालय र जिल्ला प्रशासन कार्यालय पुगिसकेका छन् । 

३० सालतिरै सडकको क्षेत्राधिकार ५० मिटर तोकिएको हो । तर कतिपय घरहरु ५० मिटरभित्रै पिल्लर पर्नेगरीसमेत बनेका छन् भने धेरैजसो घरको छत काट्नुपर्ने अवस्था छ । यसरी संरचना काट्दा, भत्काउँदा लाग्ने खर्चको क्षतीपूर्ती आयोजनाले दिने भनेको छ ।

एडीबीको ऋणमा बन्न लागेको सडक भएकैले घरधनीहरुले क्षतीपूर्ती पाउने भएका हुन् । कोशी राजमार्ग बनाउँदा भत्काइएका घरहरुले क्षतीपूर्ती पाएका थिएनन् । इन्जिनियर श्रेष्ठका अनुसार सडकको क्षेत्राधिकार ५० मिटर नै भएकोले त्यती नै क्षेत्र खाली गराइनेछ । केहीले भत्काउन सुरु गरिसकेको बताउँदै उनले सडकमा परेका घर, संरचना भत्काएर सहयोग गर्नसमेत आग्रह गरेका छन् । 


दुई तहको कालोपत्रे, ल्याण्डमार्क पुलहरु

राजमार्ग ६ लेनको बनिसक्दा निकै दह्रो र बलियो हुने बताइएको छ । पहिलो चरण पिच गरिसकेपछि त्यसमाथि अस्फाल्ट कंक्रिट पिच बनाइनेछ । २०२७ जनवरी महिनाभित्र बनाइसक्ने लक्ष्य लिइएको सडक तथा पुलहरुको गुणस्तर सुनिश्चित गर्न थप दुई वर्ष डिफेक्ट नोटिफिकेसन पिरियड र त्यसपछिको पाँच वर्षसम्म पफर्मेन्स बेस्ड पिरियड भनेर तोकिएको श्रेष्ठ बताउँछन् । यो नौ वर्षको समयभित्र सडकमा खाल्डा खुल्डी परे, भत्केमा ठेकेदार कम्पनिले मर्मत गरिदिनेछ । 

यस्तै लामा पुलहरुलाई आकर्षक बनाइने बताइएको छ । विभिन्न आर्कहरुसहित हेर्दा पनि सुन्दर र ल्याण्डमार्क ब्रिजको रुपमा डिजाइन गरिएको छ । ठाउँ ठाउँमा पानी पास हुने ठूला ठूला कल्भर्टहरु राखिएका छन् भने हात्ती पास हुने क्रसिङ समेत बनाइएको छ ।

भिडियो अन्तर्वार्ता :-