मोरङमा नहरमा डुबिरहेको अवस्थामा एक युवक मृत फेला

न्युजलय ८ जेठ २०८२, बुधबार ०२:४० मा प्रकाशित

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा एक युवक मृत फेला परेका छन् । 

नहरको पानीमा डुबेर मृत्यु भएको अवस्थामा बुधाबार ग्रामथान–७ का २४ वर्षीय सुमन चौधरीको शव फेला परेको मोरङ प्रहरीले जानकारी दिएको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बिहान ९ बजेतिर घटनाको जानकारी पाएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ । खत्री नेतृत्वकै टोलीले घटनाको थप अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद देखिएको छैन । मादक पदार्थ सेवन गरेर नहरमा खसेपछि उठ्न नसक्दा पानीमा डुबेर चौधरीको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।