टिकटक शैलीमा समाचार पढ्न पाइने एप ताजा खबर

न्युजलय १२ माघ २०८१, शनिवार १०:२० मा प्रकाशित

इटहरी । टिकटकमा गीतसंगीतसहित फोटो भिडियोहरु हेर्दै आउनुभएको छ ? अब टिकटकमा भिडियो हेरे जसरी समाचार पढ्नको लागि तयार रहनुहोस् । स्लाइड गर्दै समाचार पढ्न पाइने ताजा खबर एप सार्वजनिक गरिएको छ । 


प्लेस्टोरमा उपलब्ध यो एपमा छोटा छोटा समाचार पढ्न पाइन्छ । समाचार पढिरहँदा ब्याकग्राउण्डमा गीत बजिरहन्छ । यसले प्रयोगकर्तालाई समाचारसँगै मनोरञ्जनसमेत दिन्छ । ती समाचार विभिन्न अनलाइनबाट हुन्छन् । जसमा क्लिक गर्ने हो भने पुरा समाचार पढ्न पाइन्छ । 


धेरै तिरका समाचार छोटोमा एकै ठाउँ, गीत सुन्दै सजिलो तरिकाले पढ्न पाइने र पुरा पढ्न मन भएमा क्लिक गर्दा हुने भएकोले यो एपले प्रयोगकर्तालाई नौलो अनुभव दिने छ ।


यस एपले अल्गोरिदमबाट प्रयोगकर्ताहरुलाई समाचार पस्कने यो एपको निर्माता कम्पनि भीसंसार अनलाइन प्रालिकी अध्यक्ष आरती कुमारी काफ्ले श्रेष्ठले जानकारी दिइन् । अल्गोरिदमबाट संचालित यो नेपालकै पहिलो न्यूज एप भएको उनको दावी छ । 


यो एपको विशेषता भनेकै यसको प्रस्तुति हो । टिकटकमा जस्तै एक पटकमा एउटा मात्र समाचार देखाइने र स्लाइड गर्दै समाचार पढ्न पाइने हुँदा यो एपले समाचार पढ्ने शैलीलाई प्रयोगकर्तामैत्री बनाउने उनले बताइन्। उनले भनिन्, ‘प्रयोगकर्ताले आफ्नो रुचिको समाचार मात्र हेर्न सक्नेछन्, जुन अत्याधुनिक अल्गोरिदमले प्रस्तुत गर्छ ।’


उनले अहिलेको समयको मागअनुसार एप निर्माण गरिएको बताइन् । उनकाअनुसार एपमा समाचारका अतिरिक्त धेरै खालका सञ्चार र व्यवशायिक सेवाहरु उपलब्ध छन् । 


एपमा बल्क एसएमएसको सेवा रहेको छ । जसमार्फत्, प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बरमा भएका धेरैजनालाई एकैपटकमा सन्देश पठाउन सक्नेछन् । यस्तै एसएमएस बुस्टिङ सेवा प्रयोग गरेर तोकिएको स्थानका व्यक्तिहरूसम्म मोबाइल एसएमएसबाट विज्ञापन पुर्‍याउन सकिन्छ । 


यसैगरी यो एपमा कोशी प्रदेशका विभिन्न समाचार अनलाइनहरुमा पनि विज्ञापन दिने सुविधा छ । जुन विज्ञापन विभिन्न अनलाइनहरुमा प्रकाशन हुन्छ र त्यसको भ्युजअनुसार पैसा तिर्दा हुन्छ । यसले विज्ञापनदाता र सञ्चारमाध्यम दुवैलाई फाइदा दिने कम्पनिको दावी छ ।


यस एपले काम खोज्ने र दिने दुवैका लागि जब लिस्टिङको सुविधा पनि दिएको छ। यसका माध्यमबाट रोजगारीका अवसरहरूबारे जानकारी दिन र आवेदन दिन सकिन्छ । 


साथै, घरजग्गाको कारोबार पनि यो एपबाट गर्न सकिन्छ । बिक्रीका लागि राखिएका घरजग्गा हेर्न र आफ्नो सम्पत्ति लिस्टीङ गर्न यो प्लेटफर्म सहज र उपयोगी रहेको श्रेष्ठले बताइन् । 


अहिलेलाई एन्ड्रोइड भर्सन मात्र उपलब्ध भएपनि चाँडै आइओएसमा पनि तयार हुने कम्पनिले जनाएको छ । यससँगै आगामी दिनमा थप नयाँ सेवाहरू थप्दै जाने र प्रयोगकर्तालाई एकै एपबाट धेरै खालका सेवा दिने योजना रहेको बताइएको छ ।

एपमा जानको लागि स्क्यान वा क्लिक गर्नुहोस् :-

https://play.google.com/store/apps/details?id=np.com.nareshmdr.tajakhabar