बिर्तामोड । झापाको बाह्रदर्शी गाउँपालिका–१, खैरबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
बुधबार दिउँसो करिब ४ बजेतिर राजगढबाट कुटीतर्फ गइरहेको बीआर ३७ एजे ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्र १–०१–०१६ प ९२७० नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनापछि स्कुटर चालक र मोटरसाइकल चालकलाई तत्कालै उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो।
तर उपचारका क्रममा कचनकवल गाउँपालिका–३ का स्कुटर चालक ६० वर्षीय श्रीप्रसाद राजवंशी र पहिचान खुल्न बाँकी मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनामा स्कुटरमा सवार मृतक राजवंशीकी बुहारी २७ वर्षीया उर्मिला राजवंशी र तीन वर्षीय नाति आयुष राजवंशी गम्भीर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।