झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा जेन्जी आन्दोलन उग्र बनेको छ। आन्दोलनकारी युवाहरूले नगरपालिकाको कार्यालय कब्जा गरेका छन्। प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।
उग्र प्रदर्शनका कारण प्रहरी पछि हट्न बाध्य भएको छ। प्रहरी हटेपछि प्रदर्शनकारीले नगरपालिकामा रहेका दर्जनौँ सवारी साधन र मोटरसाइकलमा आगजनी गरेका छन्। हाल नगरपालिकाको कार्यालय आन्दोलनकारीको नियन्त्रणमा रहेको छ।
प्रारम्भमा प्रहरीले आन्दोलन नियन्त्रणका लागि गोली र अश्रुग्यास प्रयोग गरेको थियो। तर भिड नियन्त्रणमा आउन नसकेपछि प्रहरीले पछि हटेको हो। गोली लागेर एक व्यक्ति घाइते भएका छन् र उनको उपचार दमक अस्पतालमा भइरहेको छ।
सोमबार देशभर जेन–जी पुस्ताले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन्। उनीहरूले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै आन्दोलनलाई थप तीव्र बनाएका छन्।