इटहरी । इटहरी उपमहानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागि व्यवस्था गरेको दिवा खाजा कार्यक्रम संकटमा परेको छ ।
खाजा गुणस्तरीय नभएको गुनासोकै बिच कार्यक्रमकी संयोजक उपमेयर संगीता चौधरीले संयोजकबाट राजिनामा दिनु र ठेक्का पाएको कम्पनिले चार महिनादेखि भुक्तानी नपाएको गुनासो गरेपछि कार्यक्रमको निरन्तरतामै प्रश्न उठेको छ ।
विद्यालय दिवा खाजा कार्यक्रमकी संयोजक उपमेयर संगीता चौधरीले आफूले खाजा कार्यक्रमबाट राजिनामा दिएको बताएकी छिन् । विहीबार पत्रकार भेटघाटका क्रममा उनले यस्तो बताएकी हुन् । पटक पटक अनुगमन गर्दा पनि खाजाको गुणस्तर राम्रो नभेटिएको र कुनै सुधार नआएकोले आफू संयोजकमा रहन नचाहेको बताएकी छिन् ।
‘अण्डा चिउरा ठूलै मानिसले पनि चबाउन नसकिने खालको थियो,’ उनले भनिन्, ‘फलफूल पनि कुहिएको र मासु पनि झोल मात्र ।’ उनले विहीबार आयोजित पत्रकार सम्मेलनमा थपिन्, ‘पटक पटक भन्दा पनि सुधार नभएपछि यो कार्यक्रम सफल नहुने रहेछ भन्ने ठानेर मैले राजिनामा दिएँ, अब मेयरसाबले नै दिनुहुन्छ भुक्तानी पनि ।’
उनले पकली मावि, सरस्वती सतन, शम्भुनाथ, कविर स्कुलमा गएर अनुगमन गरेको बताइन् । खाजा ठेक्कामा दिएर वितरण गर्ने अहिलेको तरिका प्रभावकारी नभएको भन्दै उनले यो कार्यक्रमको औचित्यमै प्रश्न उठेको बताइन् ।
गत मंसिर २४ गते उपमहानगरपालिकाले दिवा खाजा कार्यक्रम उद्घाटन गरेको थियो । एउटै कम्पनिलाई ठेक्का दिएर गरिएको यो कार्यक्रम नेपालभरमै पहिलो प्रयोग हो । इटहरीभरीका सामुदायिक विद्यालय र बालविकासमा अध्ययन गर्ने ८ हजार २८ जना बालबालिकाहरुको लागि खाजा कार्यक्रम लागु गरिएको थियो ।
नेपाल सरकारले कक्षा ५ सम्मका विद्यार्थीको लागि दिनको १५ रुपैया उपलब्ध गराउँदै आएको थियो । विद्यालयले नै त्यो रकम प्रयोग गरेर खाजा बनाएर विद्यार्थीलाई वितरण गर्थे । त्यसमा उपमहानगरपालिकाले ३२ रुपैया थपेर खाजा दिने र कक्षा ६ सम्मका विद्यार्थीलाई दिनेगरी कार्यक्रम लागु गरेको हो । जसको लागि कुन दिन के खाजा खुवाउने भनेर मेनु नै बनाइएको छ । अहिले भने एरिना ब्यांक्वेटले एक ठाउँ पकाएर सवारी साधनमार्फत् विद्यालय विद्यालयमा ढुवानी गर्ने गरिन्छ ।
सङ्घीय सरकारले पठाएको एक करोड ९८ लाख ८४ हजार रुपैयाँमा इटहरी सरकारले तीन करोड ६६ लाख १६ हजार रुपैयाँ थपेर कार्यक्रम लागु गरेको थियो । जम्मा पाँच करोड ६५ लाख रुपैयाँ खर्च हुने कार्यक्रमअन्तर्गत वितरण गरिएको खाजा थोरै भएको र गुणस्तरीय नभएको भन्दै सुरुदेखि नै गुनासो सुनिएको थियो ।
‘चार महिनादेखि पैसा पाएनौं’ : ठेकेदार कम्पनि
यता ठेक्का पाएको कम्पनि एरिना बैंक्वेटले भने खाजा गुणस्तरहीन नभएको जनाएको छ । सञ्चालक समिर कार्कीकाअनुसार एकै पटक खाजा खुवाउँदा केही ठाउँमा समस्या देखिनु स्वभाविक भएको बताउँदै आफूहरुले सक्दो राम्रो काम गरेको दावी गरे ।
‘अण्डा चिउरा बनाएको एकैछिनमा ओसिन्छ त्यसैले त्यो मेनु परिवर्तन गरौं भनेर शिक्षा शाखामा पटक पटक भन्दा पनि सुनुवाई भएको छैन,’ उनले भने, ‘फलफूल पठाउँदा दुई चार वटा बिग्रिन्छ भनेरै १४–१५ वटा एक्स्ट्रा फलफूल पनि पठाएका हुन्छौं ।’
यस्तै कार्कीले चार महिनादेखि पैसा नपाएको गुनासो गरेका छन् । ‘१५–१५ दिनमा भुक्तानी पाउने गरी सम्झौता गरेको हो,’ उनले भने, ‘तर चार महिनादेखि भुक्तानी पाउन बाँकी छ, त्यो भनेको दुई करोड रुपैया हो ।’
उनले एक करोड ३९ लाख रुपैया बैंक ग्यारेन्टी राखेर काम सुरु गरेको र अहिले थप दुई करोड रुपैया खर्च भइसकेको बताउँदै उनले अहिलेको आर्थिक मन्दीको समयमा कुनै व्यवशायीसँग पनि त्यती पैसा नहुने बताए ।
यस्तै उनले केही वडाध्यक्षहरु र केही विद्यालयका व्यवस्थापन समितिले आफूलाई असहयोग गरेको, पेट्रोल आदि खर्च मागेको आरोपसमेत उनले लगाए । खाजा खाइसक्न लागेपछि खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने र आलोचना गर्ने प्रवृत्ती देखिएको उनले बताए ।