इटहरी । इटहरीका सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरुलाई आजदेखि मेनुमा आधारित रहेर दिवा खाजा खुवाउन सुरु गरिएको छ । इटहरी उपमहानगरपालिकाले टेण्डरमार्फत मासुसहितको खाजा खुवाउन थालेको हो । यस्तो सिस्टम नेपालमै पहिलो भएको दावी गरिएको छ ।
आइतबार इटहरी वडा नं. १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट कार्यक्रमको सुरुवात गरिएको हो ।
जंक फुड निरुत्साहित गर्न र स्तरीय खाजा खुवाउनको लागि नयाँ अभ्यास सुरु गरिएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
सङ्घीय सरकारले बालदेखि पाँच कक्षासम्मका विद्यार्थीका लागि दिवा खाजाको रकमवापत १५ रुपैयाँ दिँदै आएकोमा इटहरी उपमहानगरले रकम थपेर बालदेखि ६ कक्षासम्मका लागि टेण्डर खोलेको थियो । आइतबारदेखि कार्यान्वयन सुरु भएको हो ।
संघीय सरकारले एक करोड ९८ लाख ८४ हजार रुपैयाँ अनुदान दिएकोमा उपमहानगरपालिकाले आन्तरिक स्रोतबाट तीन करोड ६६ लाख १६ हजार रुपैयाँ थप गरि कुल पाँच करोड ६५ लाख रुपैयाँमा ठेक्का लगाएको हो ।
अधिकतर विद्यालयमा विद्यालयमा पकाउने व्यवस्था भइसकेको र केहीमा बाँकी रहेपनि चाडै पूरा हुने हुँदा व्यवस्थापन पक्ष मजबुद बनाएर अघि बढ्ने खाजा व्यवस्थापनका जिम्मा लिएको एरिना टिफिनका समीर कार्कीले बताए । राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यपाक सरनकुमार बस्नेतले उपमहानगरपालिकाले थालेको दिवा खाजा कार्यक्रमले दिवा खाजामा एकरुपता ल्याएको बताए ।
जङ्क फुड नखुवाउन उपमहानगरले पहिलो पटक दिवा खाजा पकाएरै खुवाउँदा चुनौतीहरु भएपनि सफल हुने र नेपालमै नौलो हुने नगरप्रमुख पौडेलले दावी गरे । उनले विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्दि गर्न आफूहरु थप सक्रिय भएर लाग्ने बताए । त्यसको लागि सबै विद्यालयलाई सिसिटिभीबाट निगरानी गर्ने, शिक्षक–कर्मचारीको ई–हाजिरीलगायतलाई प्रभावकारी बनाउने उपमहानगरपालिकाको योजना छ ।
कार्यक्रमबाट उपमहानगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत आठ हजार २८ जना लाभान्वित हुनेछन् । दिवा खाजा कार्यक्रम अन्तर्गत इटहरी उपमहानगरले बार अनुसारको मेन्यु बनाएर कार्यान्वयन थालेको छ ।
जसअनुसार आइतबार प्रति विद्यार्थी दुई सय १० ग्रामको तीन किसिमका फलफूल खुवाइनेछ । सोमबार भुटेको अण्डा र चिउरा, मङ्गलबार मिक्स गेडागुडीसँगै चिउरा, बुधबार चामलको खीर र तरकारी, बिहीबार दही, चिउरा र तरकारी, शुक्रबार खसी वा कुखुराको मासु र चिउरा खुवाउनु पर्नेछ भने साहाकारीका लागि मटर–पनिर र चिउरा खुवाउनपर्नेछ ।