इटहरी । इटहरीस्थित सामुदायिक विद्यालयका बालबालिकाहरुलाई मेनुमा आधारित दिवा खाजा खुवाउन सुरु गरिएको पहिलो दिन नै व्यापक आलोचना भएको छ । आइतबार विद्यार्थीहरुलाई बाँडिएको फलफूलको परिणामलाई लिएर आलोचना भएको हो ।
इटहरीमा कक्षा ६ सम्म पढ्ने ८ हजार २८ जना विद्यार्थीहरुलाई आइतबारदेखि मेनुमा आधारित दिवा खाजा खुवाउन सुरु गरिएको थियो । त्यसको लागि उपमहानगरपालिकाले नेपालमै पहिलो पटक खाजाको टेण्डर खोलेर जिम्मा दिएको थियो । यो पटकको टेण्डर एरिना ब्यांक्वेटले पाएको छ ।
मेनुअनुसार आइतबार तीन थरी फलफूल खुवाउनुपर्ने थियो । जसको तौल दुई सय १० ग्राम हुनुपर्ने भनिएको छ । सम्झौताअनुसार बाँडिएको फलफूलमा एक विद्यार्थीको भागमा परेको आधा केरा, आधा स्याउ र आधा सुन्तलाको तस्वीर भाइरल भएको थियो ।
केही विद्यालयहरुमा खाजाको असमान वितरण गरिएको समेत टिप्पणी गरिएका छन् । इटहरी चोकको स्कुलमा सिंगै फलफूल बाँडेर ग्रामिण क्षेत्रका स्कुलमा आधा आधा बनाएर बाँडिएको प्रतिक्रिया पनि आएका छन् ।
दोब्बर खाजा खर्च, तर परिणाम आधा घट्यो : सांसद चौधरी
यसअघि संघीय सरकारले दिने प्रति विद्यार्थी १५ रुपैया लिएर विद्यालयहरुले विद्यार्थीलाई खाजा खुवाउँदै आएका थिए । यो पैसा विद्यालयलाई उपमहानगरपालिकाले उपलब्ध गराउँथ्यो । तर खाजामा जंक फुड भएको र अनियमितता भएको भन्दै निजी कम्पनिलाई ठेक्का दिने अवधारणा ल्यायो ।
त्यही कारण इटहरी उपमहानगरपालिकाले आफैले एकमुष्ठ टेण्डर खोलेर निजी कम्पनिलाई कुल पाँच करोड ६५ लाख रुपैयाँमा ठेक्का लगाएको छ । जसमा संघीय सरकारको एक करोड ९८ लाख ८४ हजार रुपैयाँ अनुदान छ भने बाँकी उपमहानगरपालिकाको खर्च छ ।
यसअनुसार वर्षमा १८० दिन स्कुल लाग्ने हो र ८ हजार २८ जना विद्यार्थी आउने हो भने प्रति विद्यार्थीले ३९ रुपैयाको खाजा खान पाउँछन् । त्यसभित्र ठेक्का पार्ने व्यवशायीको ढुवानी, जनशक्ति लगायतका खर्च, कर आदिसमेत समावेश हुन्छ ।
पहिले पाउँदै आएको १५ रुपैयाभन्दा अहिले दोब्बरभन्दा बढी रुपैयाको खाजा विद्यार्थीले पाउँछन् । खाजा खर्च दोब्बर बढेपनि परिणाम भने आधाभन्दा कम भएको संघीय सांसद अशोक चौधरी बताउँछन् । उनकाअनुसार इटहरी १५ स्थित शम्भुनाथ माविका १७४ जना विद्यार्थीका लागि सुन्तला १२१ वटा, स्याउ ६० वटा, केरा ९० वटा पठाइएको पाइएको थियो । जुन एक एक वटा पनि भागमा पुग्दैन । जबकी यसअघि विद्यालयले १५ रुपैयामा विद्यार्थीहरुलाई फलफूल, हलुवा, चना चिउरा, बिस्कुट र खिचडी दिने गरेको थियो ।
ठेक्का पार्ने व्यवशायी कार्की भन्छन् : ‘मेनु नै गलत’
एरिना ब्याङ्क्वेटका सञ्चालक समीर कार्कीकाअनुसार उपमहानगरपालिकाको मेनु नै गलत छ । ‘२१० ग्राम फलफूल भनिएको छ, त्योअनुसार गर्दा स्याउ, सुन्तला र केरा आधा आधा राख्यो भने त्यती तौल पुग्छ,’ उपमहानगरपालिकाले मेनु सच्याउनुपर्ने बताउँदै उनी भन्छन्, ‘अण्डाको तौल तोकिएको छ, त्यो पनि गलत छ ।’
उनले आफूले एक एक वटा सिंगै फलफूल हुने गरी योजना बनाएपनि कतिपय विद्यालयले भने वास्तविक विद्यार्थी संख्या नै नदिएको बताए । शम्भुनाथ विद्यालयको विषयमा उनी भन्छन्, ‘७ हजार ८०० विद्यार्थी भनेर हामीलाई तथ्यांक दिइएको छ, यो वास्तविक संख्या र विवरण अपडेट हुन अलिकति समय लाग्छ ।’
उनले कतिपय ठाउँहरुमा कमिसनको खेल भएको, स्थानीय क्यान्टिनहरु पनि आफ्नो विपक्षमा रहेकोले अफवाह फैलाएको बताउँदै एक सातामा सबै व्यवस्थित हुने बताए । उनले आवश्यकताभन्दा बढी राजनीति भएको र केही गर्छु भन्ने युवा व्यवशायीलाई हतोत्साहित बनाउने काम भएको टिप्पणी सामाजिक सञ्जालबाट गरेका छन् ।
उनले आफूले अहिलेसम्म पेश्कीसमेत नपाएको गुनासो गरे । ‘दिनको तीन लाखभन्दा बढी खर्च छ, तर उपमहानगरपालिकाले पेश्की उपलब्ध गराएको छैन,’ उनले भने, 'शुक्रबार मासु, पनिर लगायतका खाजा खुवाउने व्यवस्था छ । त्यसमा अझ खर्च छ ।'