नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण बढेसँगै एक हप्ताको लागि स्कुल बन्द हुने भएको छ । दिनप्रति दिन प्रदूषण बढ्दै गएपछि दिल्ली सरकारले एक हप्ताका लागि स्कुल बन्द गर्ने निर्णय गरेको हो।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले अगामी सोमबारदेखि एक हप्तासम्म स्कुल बन्द हुने बताएका हुन्।
त्यस्तै सरकारी कर्मचारीलाई पनि घरबाटै काम गर्न निर्देशन दिइएको छ। मुख्यमन्त्री केजरिवालले १४ नोभेम्बरदेखि चार दिन कन्स्ट्रक्सनका सबै काममा समेत रोक लगाएका छन्।
समाचार एजेन्सी एएनआईका अनुसार शनिबार बसेको आकाश्मिक बैठकले यस्तो निर्णय गरेको हो। स्कुलका बालबालिकाको हितमा यस्तो निर्णय गरेको मुख्यमन्त्री केजरिवालले जानकारी दिए। यो अवधिमा अनलाइन कक्षा सञ्चालन गरिने उनले बताए।
भारतको सर्वोच्च अदालतले दिल्लीमा कम्तिमा दुई दिन लकडाउन गर्न सुझाएको थियो। सर्वोच्चको सुझावअनुसार नै यस्तो निर्णय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।