इनरुवा । जिल्ला अस्पताल सुनसरीले साउन १ गते काठमाडौको एक पत्रिकामा मेडिकल अफिसरको पदपूर्ति बारे सुचना निकाल्यो । तर साउन ५ गते नै रद्ध गर्यो ।
फेरि साउन आठ गते चार जना मेडिकल अफिसरको करार पदपूर्तिको सुचना निकाली २५ गते बिहान परिक्षाको मिति तय गर्यो । तर २३ गते शुक्रबार फेरी रद्ध गरेको जानकारी दिइयो ।
अस्पतालमा चार वटा करार अफिसरका लागि ३६ जना मेडिकल अफिसरले फारम भरेका थिए । तर अस्पतालले अन्तीम समयमा आएर परिक्षा रद्ध गर्यो । अस्पतालमा नियुक्तिको भागबन्डा नमिलेकोले परीक्षा रद्ध भयो, असन्तुष्ट एक आवेदकले आरोप लगाए, अस्पतालको व्यवस्थित विकासका लागि कोही जिम्मेवार छैनन् ।
सोही परिक्षा साउन ३१ गते हुन गइरहेको छ । तर कसकसलाई राख्ने भन्ने बारेमा पहिला नै सोर्स फोर्स र भागबण्डाअनुसार तय भइसकेको स्रोत बताउँछ । त्यही भागबण्डाको लागि पटक पटक परिक्षा रद्ध गर्नुपर्ने बाध्यतामा अस्पताल प्रशासन पुगेको बताइएको छ ।
डा. पिंकी यादव र डाक्टर सिमा यादवमध्ये एक जना, डा. केशरी शाह, डा. आशिष रौनियार र डा. अंकुर मेहताको नाम छनोट हुनेमा अगाडी रहेको बताइएको छ ।
यता अस्पतालका मेसु अमिताभ ठाकुर भने अस्पतालको प्रशासनीक खर्च जोगाउनका लागि परिक्षा सारिएको बताउँछन् । उनकाअनुसार प्रदेशले छात्रवृत्तीमा पढ्दै गरेका डाक्टरलाई पठाउँछ कि भनेर कुर्दा कुर्दै ढिलो भएको हो ।
'छात्रवृत्ती दुई अढाइ सयले पढ्छन्, उनीहरु आए भने त अस्पतालको प्रशासनीक खर्च नै जोगिन्थ्यो भनेर हामीले पहल गर्यौं, मन्त्रालयले पनि आश्वासन दिएको कुर्नको लागि परिक्षा सारेका हौं,' उनले भने, 'कन्सल्टेन्टहरु अर्थोपेडिक र सर्जन हामीले पायौं, अरु चार पदकोलागि भने परिक्षा लिन लागिएको हो ।'
उनले सुनसरी जिल्ला अस्पतालमा डाक्टरहरु आउनै नचाहँदा समस्या भएको बताए । 'अरु ठाउँमा जाने, यहाँ नआउने किन ?' ६०० देखि ७०० जना बिरामी नियमित आइरहेको बताउँदै उनले भने, 'अहिले १० जना कन्सल्टेन्ट भइसकेका छन् । एमओ आएनन् भने पनि धान्न सकिन्छ भनेर करारमा लिन लागेका हौं l'
उनले यसअघिका परिक्षाहरु सबै मौखिकका भरमा हुने गरेको बताए । यसपटकको परिक्षा भने प्रदेशले लिने बताए । उनले भने, 'फेयर गरौं भनेर मन्त्रालयको जिम्मा दिएका छौं, सबै उसैले गर्छ ।'
महिना दिनअघि पनि एक डाक्टरलाई नियुक्ति दिइएको थियो । उक्त नियुक्ति विवादित बनेको थियो । विवादबाट जोगिन भन्दै प्रदेश मन्त्रालयलाई परिक्षाको जिम्मा दिइएको बताएपनि दुई पटक परिक्षा स्थगित हुनु अस्वभाविक भएको केही प्रतिष्पर्धी डाक्टरहरुको भनाई छ ।
धराशायी बन्दै इनरुवा अस्पताल
पछिल्लो समय इनरुवा अस्पताल धराशायी बन्दै गएको छ । विशेषज्ञ चिकित्सकहरुको अभाव छ । नियमित सेवन गर्ने र अस्पतालमा पाउनुपर्ने औषधीहरुको समेत अभाव छ । करारका कर्मचारीले समयमा तलब पाएका छैनन् । त्यसैले उपचारभन्दा पनि रिफर लिने बिरामीहरुको संख्या बढ्दो छ । अस्पतालले पनि रिफर रोक्न पहल नगरिएको गुनासो गरिएको छ ।
असार मसान्तपछि त्यहाँ कार्यरत वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सुरज दाहाल, वरिष्ठ जेनेरल सर्जन डाक्टर लभेन्द्रनारायण शाह, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर पबित्रा लिम्बू र दन्त चिकित्सक डाक्टर धिरजकुमार मंडललगायत चिकित्सकहरुको करार थपिएन । न त मेडिकल अफिसर नै पदपूर्ति गर्न सक्यो ।
अस्पतालको यो अवस्थालाई प्रशासनीक असक्षमता मानिएको छ ।
हाल अस्पतालमा कोशी प्रदेश लोकसेवाबाट नवौ तहका डाक्टर हुँदाहुँदै पनि संघबाट समायोजन भएका डाक्टरले मेडिकल सुपरिटेन्डेन्टको भुमिका निभाउँदै आएका छन् । यस्तै कोशी प्रदेश लोकसेवा सातौं तहका कर्मचारी भएपनि संघको सातौं तहका कर्मचारीले प्रमुखको भुमिका निर्वाह गर्दै आएका छन् । प्रदेश अस्पताला प्रदेशकै कर्मचारीले जिम्मेवारी नपाएको गुनासो गरिएको छ ।