इटहरीका जनप्रतिनिधिको गुनासो : ‘लेखाबाट फाइल हराएर पनि बेरुजु आइरहेको छ’

न्युजलय ३२ साउन २०८२, शनिवार ०३:०९ मा प्रकाशित

इटहरी । इटहरीका जनप्रतिनिधिले लेखामा फाइलको व्यवस्थापन राम्रो हुन नसकेको गुनासो गरेका छन् । 


उपमहानगरपालिकामा बेरुजु बढेको भन्दै केही समयअघि व्यापक चर्चा भएको थियो । त्यसमध्ये कतिपय बेरुजुहरु फाइल तथा कागजात हराएर आएको भन्दै जनप्रतिनिधिहरुले फाइलको व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन् ।


नगरसभामा बोल्दै वडाध्यक्ष प्रभात आचार्यले भ्रष्टाचार नै गरेजसरी बेरुजुको चर्चा भएको बताउँदै भने, ‘आएका फाइलहरुलाई अध्यावधिक गर्ने काम लेखा शाखाले तुरुन्तै गर्नुपर्छ । फाइल हराएर बेरुजु आउँदा यसले जनप्रतिनिधि र उपभोक्ताह्ररुमा बेरुजुको भार बढ्न सक्छ ।’


उनले सम्बन्धित शाखाले अभियान नै थालेर फाइल व्यवस्थित राख्ने र सचेत भएर फाइल फच्र्यौट गर्नुपर्नेमा जोड दिए ।


केही समयअघिको कार्यपालिकामा पनि जनप्रतिनिधिहरुले यस्तै कुरा उठाएका थिए । उनीहरुले लेखाले फाइल दर्ता गरेर प्रमाणित प्रतिलिपी उपभोक्ताहरुलाई पनि दिने सिस्टम बनाउन माग गरेका थिए ।


नगरप्रमुख हेमकर्ण पौडेलले पनि बेरुजु प्राविधिक र लेखाको विषय भएको बताएका थिए । उनले जनप्रतिनिधिहरुलाई यसबारे खासै जानकारी नहुने हुँदा कर्मचारी तथा लेखाले अग्रसरता लिनुपर्ने बताउँदै छुट्टै बेरुजु फच्र्यौट शाखा नै बनाउन प्रस्ताव गरेका थिए ।