इटहरी । सुनसरीमा अपहरणमा परेकी बालिकाको सकुशल उद्दार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार दिउँसो कोशी गाउँपालिका –७ मुसहरी टोल बस्ने कुशेश्वर सदाकी सात वर्षीया छोरी ईशु सदालाई घर अगाडि खेल्ने क्रममा अपरिचित मानिसले सिटी सफारी चढाएर अपहरण गरेको प्रहरीमा सूचना आएको थियो ।
उक्त सूचनाका आधारमा डीएसपी योगराज खतिवडाको नेतृत्वमा टोली परिचालन भएको थियो ।
अपहरणमा परेको २४ घण्टाभित्रै बालिकाको सप्तकोसी नदीको पुलस्थित २६ नम्बरको ढोकाबाट उद्दार गर्न सफल भएको प्रहरीले जनाएको छ ।
बालिकाको अपहरणमा संलग्न सप्तरीको कञ्चनरूप नगरपालिका– १२ धरमपुरका ३१ वर्षीय जितुवा भनिने जितेन्द्र साहलाई पक्राउ गरिएको हो । अपहरणमा परेकी ती बालिकालाई भारततर्फ लगेको हुनसक्ने आशंकामा प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरिरहेपनि सुनसरीतर्फ नै पर्ने सप्तकोसी पुलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
खासगरी बालिका अपहरणमा परेको सूचना आएपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरू गरेको थियो ।