धनुषा । धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ई. दीपेन्द्रकुमार साहले नगरपालिकाका ८३ भन्दा बढी कर्मचारी हटाएका छन् । मेयरका छोराले कुटेको झोँकमा उनले गत माघ २८ गते करार र ज्यालादारी कर्मचारीहरु हटाएका हुन् । त्यसमध्ये १२ जना नगरप्रहरी छन् ।
कतिपय कर्मचारीको ग्रेड रोक्का गरिएको छ भने कतिपयलाई पुनः नियुक्ति गर्न नमिल्ने गरी बर्खास्त गरिएको छ । नयाँ नियुक्त विभिन्न पदका १० जना, डोर हाजिरमा कार्यरत ३५ जना, करार सेवामा ६ महिना, एक वर्षका लागि नियुक्त २० जना र इन्जिनियरसहित ६ कर्मचारीलाई बर्खास्त गरिएको हो ।
उनीहरुमध्ये कसैलाई आर्थिक हिनामिना गरेको त कसैलाई काम गर्ने वातावरण बिथोलेको, कतिपयलाई गोप्यता भंग गरेको आरोप लगाएका छन् भने कसैलाई कार्यसम्पादन राम्रो नभएको आरोप लगाएका छन् । भर्खरै नियुक्त भएका १० जनाको नियुक्ति गर्दा लिइएको परिक्षाको प्रश्नपत्र बाहिरिएको आरोप लगाउँदै नियुक्ती बदर गरेको उनले बताएका छन् । साहले म्याद थप नभएका करार कर्मचारीहरूलाई काम नगर्न÷नगराउन र आर्थिक सुविधा उपलब्ध नगराउन सूचना जारी गरेका छन् ।
नगरप्रमुख बेचन दासका छोरा रामभजन दासले केही समयअघि साहलाई माघ २७ गते कार्यकक्षमै कुटपिट गरेका गरेका थिए भने मेयर शाहले पनि २९ गते गोली हान्ने धम्की दिएका थिए ।
अधिकृत साहले हटाइएका कर्मचारीहरु पालिका प्रमुखको झोले भएको बताउँछन् । कसैले पनि कार्यालय समयमा काम नगर्ने भएकोले हटाएको उनले बताएका छन् ।
आफूमाथि आक्रमण भएपछि प्रशासनसँग सुरक्षा मागेको तर उपलब्ध नगराएका कारण आफू कार्यालयमा नगएको उनी बताउँछन् ।