सुनसरी र मोरंगमा गरी ५ टन बढी गाँजा बरामद, तीन जना पक्राउ

न्युजलय २९ भदौ २०८२, आइतबार ०१:३६ मा प्रकाशित

सुनसरी । विशेष सूचनाका आधारमा सुनसरी प्रहरीले इटहरी–५ स्थित स्यार्सेकाली पेट्रोल पम्प नजिकबाट करिब पाँच टन गाँजा बरामद गरेको छ।


गत राति सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी पकली सुनसरीको टोलीले गस्तीका क्रममा ना ४ ख २९०१ नम्बरको ट्रक र बा ५ ख ११६९ नम्बरको मिनी ट्रकबाट गाँजा बरामद गरेको हो । 


सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको कमाण्डमा खटिएको २१ जनाको मोबाइल गस्ती टोलीले शंका लागेपछि सवारीसाधन नियन्त्रणमा लिएको थियो। बिहान ९ बजे ट्रक खोल्दा १२४ बोरा र मिनी ट्रकमा ३४ बोरा गरी जम्मा १५८ बोरामा राखिएको ५,००० किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।


दुवै ट्रक चालक फरार भएको र बरामद गरिएको गाँजा तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाउने प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ।


यस्तै विराटनगर महानगरपालिका १५ बाट दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् । 


महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरेलाई शनिबार राति रानीस्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो ।