उदयपुर । उदयपुरमा ठूलो परिमाणको गाँजासहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले चौदण्डीगढी नगरपालिका–१, रानीटार बजारस्थित एक स्थानीयको घरमा लुकाएर राखिएको अवस्थामा एक हजार किलोभन्दा बढी गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाको संयुक्त टोलीले एक हजार १४३ किलो २७५ ग्राम गाँजा फेला पारेको हो।
गाँजा राख्ने घरधनी रानीटारकी ४१ वर्षीया रत्नमाया श्रेष्ठ र उनकी छिमेकी ४२ वर्षीया कमला श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ गरिएको गाँजा र दुवै महिलालाई शुक्रबार बिहान सदरमुकाम गाईघाट ल्याइएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।