खोटाङ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । एक कार्यक्रमका बिच हलेसी महादेव मन्दिरको प्राङ्गणमा सार्वजनिक गरिएको हो ।
प्रमुख अतिथि नेपाल सरकारका पूर्व अर्थमन्त्री प्रकाश शरण महत, प्रतिनिधि सभा सदस्य सरस्वती बजिमय, प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरे, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राई, उपमेयर रमेश राउत, लगायतले लोगो सार्वजनिक गरेका हुन् ।
लोगो निर्माण गर्न खुल्ला प्रतिस्पर्धाका लागि नगरपालिकाले सार्वजनकि सूचनामार्फत आव्हान गरेको थियो । प्रतिष्पर्धामा सहभागि ७ ओटा लोगोमध्ये हलेसी तुवाचुङ नगरपालिका वडा नं. ४ बडहरेका सन्तोषकुमार दाहालले बनाएको लोगो उत्कृष्ट ठहर गरेको थियो । लोगोलाई नगरपालिकाको १५ औं नगरसभाले छनोटसँगै स्विकृत गरेको नगर प्रमुख बिमला राईले जानकारी दिइन् ।
त्रिधार्मिक तपोःभूमि हलेसी तथा हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको लोगोका डिजाइनर सन्तोष दाहाललाई सम्मानसमेत गरिएको थियो । उनलाई ५० हजार नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
लोगो डिजाइनर दाहाल लामो समयदेखि ग्राफिक डिजाइन तथा सञ्चारकर्ममा सक्रिय छन् । करिब एघार वर्षदेखि नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रका पुस्तकहरु डिजाइन गरेका उनले तीन सय बढी साहित्यीक पुस्तकहरुसमेत डिजाइन गरेका छन् । उनले डिजाइन गरेको उपन्यास “महारानी”ले मदन पुरस्कारसमेत प्राप्त गरेको थियो ।