बालिका बलात्कारपछि हत्याको आशंकामा आफन्तले दिए प्रहरीमा जाहेरी

न्युजलय २ भदौ २०८२, सोमबार ०२:४७ मा प्रकाशित

खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–३ बाम्राङमा झुण्डिएको अवस्थामा मृत फेला परेकी बालिकाको मृत्यु प्रकरणमा आफन्तले बलात्कारपछि हत्या गरिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी १२ वर्षीया तारा अछामी बाम्राङस्थित हिङमाङको घरमा गत साउन २९ गते साँझ उनी सुत्ने कोठाको बलोमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । मृतकका बुबा तेजबहादुर अछामी सार्कीले छोरीको मृत्यु आत्महत्या नभएर बलात्कारपछि हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दिएका हुन् ।

मृत फेला परेकी बालिकाको शरीर अर्धनग्न अवस्थामा र योनीबाट रगत बगेको देखिएको आफन्तको भनाई छ । यसैलाई आधार बनाएर घटनाको निष्पक्ष छानबिन र दोषी पत्ता लगाइ कानूनी कारबाही गर्न माग गर्दै शनिबार उजुरी दिएका हुन् । मृतक तारा एक महिनादेखि हिङमाङको घरमा काम सघाउने गरेर बसेको र बाम्राङस्थित शितला माविको कक्षा ४ मा अध्ययनरत रहेको पाइएको छ ।

उनकी आमा सरिता अछामी सार्की १० वर्षीय छोरासँग हिङमाङको घरदेखि पाँच मिटर पर डेरामा बस्दै आएकी छिन् भने बुबा टेकबहादुर ज्यालादारीको कामका लागि काठमाडौँ बस्दै आएका छन् । घटना शंकास्पद भएको भन्दै ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

मृतक ताराको शव चार दिनपछि जिल्ला अस्पताल खोटाङमा परीक्षण गराएर आईतबार दाहसंस्कारका लागि अर्खौले लगिएको छ ।