हलेसीबाट सिराहातर्फ फर्किँदै गरेको विङ्गर दुर्घटना हुँदा १ जनाको मृत्यु, १६ घाइते

न्युजलय २० साउन २०८२, सोमबार ११:०३ मा प्रकाशित

विराटनगर । खोटाङको हलेसीबाट तीर्थयात्री बोकेर फर्किँदै गरेको गाडी सोमबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । 

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । कोशी प्रदेशका निमित्त ट्राफिक प्रहरीका अनुसार मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।  

चालकसहित १८ जना सवार रहेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विंगर गाडी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयराम घाटनजिक दुर्घटनामा परेको पहरीले जनाएको छ । हलेसीबाट सिराहातर्फ जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको प्रारम्भिक जानकारी छ ।

दुर्घटनामा परेर १७ जना घाइते भएका थिए । घाइतेमध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको हो । गाडी सिराहाबाट रिजर्भ लिएर खोटाङ गएको थियो । हलेसी मन्दिर दर्शनपछि रिजर्भका यात्रु बोकेर सिराहातर्फ फर्किँदै गरेको गाडी दुघटनामा परेको हो ।

प्रहरीले घाइतेहरूलाई उपचारका लागि घुर्मी सामुदायिक अस्पताल लगेको छ । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनालगत्तै चालक फरार भएका छन् । 

फरार रहेका चालकको खोजी तीव्र पारेर घटनाको अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।