इटहरी । इटहरीस्थित जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले निःशुल्क लेखापढी अभियान थालेका छन् ।
इटहरी उपमहानगरपालिका तथा वडा कार्यालयमा आउने सेवाग्राहीहरुलाई निःशुल्क लेखापढी सेवा दिने उद्देश्यले अभियान थालेको उनले जनाएका छन् । यो अभियानमा उनलाई उनैको स्कुलका विद्यार्थीहरुका साथै सर्वसाधारणले सघाइरहेका छन् ।
सरकारी कार्यालयमा आउने सेवाग्राहीहरु सानो निवेदन लेखाउँदा पनि चर्को शुल्क तिर्नुपर्ने परिस्थितजीको अन्त्य गर्नका लागि अभियान थालेको उनले बताए । अभियानअन्तर्गत जोडिएका विद्यार्थीहरुमा धेरैजसो कानुन विषय पढिरहेका विद्यार्थीहरु छन् । विद्यार्थीहरु गेट नजिकै निःशुल्क लेखापढीको बोर्ड राखेर बसिरहेका भेटिन्छन् ।
पढिरहेका विद्यार्थीलाई एकातिर अभ्यास हुने, अर्कोतिर सरकारी कामकाजको व्यवहारिक ज्ञान पनि हाँसिल हुने हुँदा अभियानले चौतर्फी फाइदा पुगेको दंगालको दावी छ ।
इटहरी उपमहानगरपालिका, इटहरी ५ नं., १४ नं. वडा कार्यालयहरुमा निःशुल्क लेखापढी सुरु भइसकेको छ भने अन्य कार्यालयहरुमा पनि स्वतःस्फूर्त निःशुल्क लेखापढी गरिदिने गरी सर्वसाधारणको चासो बढेको उनले बताए ।