अफगानिस्तानको सैनिक अस्पतालमा विस्फोट हुँदा १५ को मृत्यु, ३४ जना घाइते

न्युजलय १६ कार्तिक २०७८, मङ्गलबार ०८:३२ मा प्रकाशित

काठमाडौँ । अफगानिस्तानको काबुलस्थित सैनिक अस्पतालमा बम विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । केही स्थानीय सञ्चारमाध्यमले भने घटनास्थलमा कम्तीमा २० जनाको मृत्यु भएको दाबी गरेका छन् ।


काबुलको सबैभन्दा ठूलो सैनिक अस्पताल सरदार मोहम्मद दाउद खान अस्पतालमा मंगलबार विस्फोट भएको हो । जहाँ ४०० वटा शैय्या छन् । सरकारी अधिकारीहरूका अनुसार घटनापछि सुरक्षाकर्मीहरू घटनास्थलतर्फ पुगेका छन् ।


घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । यद्यपि स्थानीयहरूले स्लामिक स्टेटका लडाकुहरू अस्पतालभित्र छिर्दै गरेको आफूले देखेको दाबी गरेका छन् । अस्पतालका स्वास्थ्यकर्मीहरूका अनुसार विस्फोटसँगै अस्पतालमा गोली प्रहारसमेत भएको थियो ।


अफगानिस्तानमा मध्य अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि सशस्त्र स्लामिक स्टेटका लडाकुले आक्रमण तीव्र पारेका छन् ।