ताप्लेजुङमा खुकुरी प्रहारबाट युवकको हत्या गरेको आरोपमा एक जना पक्राउ

न्युजलय २३ जेठ २०८२, बिहिबार ११:४९ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्र लिम्बूलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ३२ वर्षीय अर्जुन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

फक्क्तालुङ गाउँपालिका–३ स्थित फुपू योगमाया लिम्बूको घरमा पाहुना गएको अवस्थामा अर्जुन गुरुङ र उनको श्रीमती सरिता लिम्बूबीच सामान्य विवादको क्रममा झगडा भएकोमा फुपूले सम्झाइबुझाइ दुवैजनालाई छिमेकी तेजेन्द्रको साथ लगाएर घर पठाइएको थियो ।

घर फर्किने क्रममा बाटोमा नै तेजेन्द्रलाई अर्जुनले अचानक धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

घटना पश्चात फरार रहेका गुरुङलाई तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका अर्जुनमाथि प्रहरीले थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको छ ।