इटहरीस्थित एमआरएस प्रणामी अस्पतालले स्वीकृती पाउने

लासेवा सुब्बा ९ असार २०८२, सोमबार ०६:४० मा प्रकाशित

इटहरी । इटहरीस्थित एमआरएस प्रणामी अस्पतालले स्वीकृती पाउने भएको छ । सोमबार बसेको कार्यपालिका बैठकले सञ्चालन स्वीकृती दिने निर्णय गरेको हो । 


गत वैशाख १ गते उद्घाटन भएर पनि अस्पतालले स्वीकृति नपाउँदा पूर्ण रुपमा सेवा दिन सकेको थिएन । जसको कारण मासिक १५ लाखको सञ्चालन खर्च व्यहोर्न समेत समस्या भएको थियो । सहयोगी दाताहरुको १० करोड सहयोगमा निर्माण भएको अस्पताललाई क्रमिक स्तरोन्नती गर्दै पाँच सय बेडको अस्पताल बनाउने लक्ष्य लिइएको अस्पताल सञ्चालक समितिका अध्यक्ष हेम घिमिरेले जानकारी दिएका छन् । 


१५ शैय्याको अनुमति पाउने भएपनि अस्पतालले ३० भन्दा बढी बिरामीलाई एक साथ सेवा दिन सक्ने घिमिरेले जानकारी दिए । अस्पतालले अत्याधुनिक मेसिन उपकरणबाट ल्याब सेवा दिइरहेको छ । न्युनतम शुल्कमा इमर्जेन्सी, जनरल ओपिडीका साथै विशेषज्ञ डाक्टरको सेवा दिइरहेको उनले बताए ।


स्वीकृतिसँगै थप सेवा सञ्चालनको ढोका खुलेको घिमिरेले बताएका छन् । ‘चाँडै नै बिमासहितका विभिन्न सुविधाहरु थप्ने योजनामा छौं,’ उनले भने ।