झापाबाट ठूलो परिमाणमा ब्राउनसुगर बरामद

न्युजलय २२ बैशाख २०८२, सोमबार ०१:५३ मा प्रकाशित

झापा । झापाको कनकाई नगरपालिकाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । 

कनकाई–५ स्थित सुरुङ्गा–झापा सडक खण्डमा शरणामतीबाट सुरुङ्गातर्फ आउँदै गरेको बिआर ३७ टी ९१९८ भारतीय नम्बरको मोटरसाइकलमा रहेको झोलाबाट अन्दाजी २०० ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज बिहान प्रहरी टोलीले रोक्न खोज्दा मोटरसाइकल चालकले मोटरसाइकल र झोला छाडेर फरार भएका थिए । प्रहरी टोलीलाई देख्नासाथ फरार भएका मोटरसाइकल चालकलाई रोक्नका लागि दुई राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।