गाडी जिम्मा लाएर इटहरीका मेयर-उपमेयर विदामा, वडाध्यक्ष श्रेष्ठलाई कार्यवाहक

न्युजलय ४ साउन २०८२, शनिवार ०७:४९ मा प्रकाशित

इटहरी । बजेट पास नभएपछि इटहरीका मेयर हेमकर्ण पौडेल र उपमेयर संगीताकुमारी चौधरी दुवै विदामा बसेका छन् । मेयर पौडेल विदेश यात्रामा निस्केका छन् भने उपमेयरले आफन्त बिरामी भएको भन्दै विदा लिएको वडाध्यक्ष उमेश सुवेदीले जानकारी दिए ।


बजेटको अलमल, पत्रकारहरुको आन्दोलन र विभिन्न राजनीतिक दलको दबाब र चेतावनीलाई वेवास्ता गर्दै दुवै जना विदामा बसेका हुन् । मेयर, उपमेयर दुवै नभएपछि मेयर पौडेलले वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठलाई कार्यवाहक दिएका छन् ।


स्थानीय सरकार ऐन २०७४ को दफा १६ को उपदफा ४ को (क) को १२ नम्बर बुँदामा ‘सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ उल्लेख छ ।


यसअघि बजेट पास हुन नसकेर बजेट होलिडे भएको भन्दै नैतिक रुपमा उपमेयर र मेयरले गाडी उपमहानगरपालिकालाई बुझाएका थिए । 


यसै बिचमा सुनसरीका पत्रकाररुले पनि मेयरको अभिव्यक्तिविरुद्ध आन्दोलन गरिरहेका छन् । मेयर पौडेलले केही दिनअघि फेसबुक स्टाटसमा पत्रकारले समाचारमा बार्गेनिङ गर्ने गरेको आरोप लगाएका थिए । उनको अभिव्यक्तिलाई लिएर पत्रकार महासंघ सुनसरी र पत्रकारका सबै संगठनहरुले विरोध जनाउँदै आरोप पुष्टि गर्न वा माफी माग्न चेतावनी दिँदै आन्दोलनका विभिन्न कार्यक्रम गरिरहेका छन् ।


यस्तै नेकपा माओवादी केन्द्रले पनि विज्ञप्ती निकालेर बजेट निर्माण र नगरपालिकाको अवस्था सुधारमा राजनीतिक दलहरुलाई गम्भीर बन्न माग गर्दै, नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।