हर्कले स्ट्याटसमार्फत् नेतृत्त्व दिन गुहार्दै भने, देश बचाउने हो भने मलाई समर्थन गर्नु’

न्युजलय २५ भदौ २०८२, बुधबार ०२:४० मा प्रकाशित

धरान  । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले फेसबुकमा दर्जनौं स्टाटस लेखेका छन् । हर्क सामपाङ द रिभोलुसन नामको फेसबुक पेजमार्फत् स्ट्याटस लेखेका हुन्  ।

जेनजी सहित युवाहरूको प्रर्दशनपछि मंगलबार सरकार ढलेपछि अब देशको नेतृत्त्व कस्ले सम्हाल्छ ? भन्ने प्रश्न छ । यसैबेला हर्क सामपाङले फेसबुकमा एकपछि अर्को पोस्ट हालेका हुन् । सामपाङले देशको नेतृत्त्व आफूले लिन चाहेको धारणा राखेका छन् ।

मंगलबार साँझ एक स्ट्याटसमार्फत् उनले युवाले साथ दिए आफूले नेतृत्त्व लिने बताएका थिए ।

बुधबार दिउँसोबाट २ बजेसम्म ३४ वटा स्ट्याटस लेखिसकेका छन् । ती सबै पोस्टमा एउटै एजेन्डा छ । सामपाङ दिनहुँ दर्जनौं स्ट्याटस हालिरहन्छन् । सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया दिनाले धेरैले उनलाई मन पराउँदैनन् ।