विराटनगर । मोरङको पथरीशनिश्चरेमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुल्न सकेको छैन ।
पथरीशनिश्चरे नगरपालिका–१ गोरखा डिपार्टमेन्ट अगाडि बिहीबार साँझ दुर्घटना हुँदा महिलाको मृत्यु भएको थियो ।
उर्लाबारीबाट बेलबारीतर्फ जाँदै गरेको को १ क ९७५१ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ३०–३५ वर्षीया महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउनसाथ चिकित्सक मृत घोषित गरेका हुन् ।
मृतकको पहिचान खुल्न नसकेको र पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । महिलालाई ठक्कर दिनसाथ चालकले ट्रक भगाएका थिए । दुर्घटना गराएर फरार भएको ट्रकलाई प्रहरीले बेलबारी नगरपालिका–१० भाउन्नेस्थित जंगलबाट राति नियन्त्रणमा लिएको हो ।
ट्रक चालक सुनरीको रामधुनी नगरपालिका–९ का ४० वर्षीय बलराम चौधरी पक्राउ परेका छन् । पैदलयात्रीको लापरबाहीले दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । शवलाई पोस्टमार्टमका लागि दमक अस्पतालमा लगिएको छ ।