उपाध्यक्ष निरौलालाई पन्छाउँदै नेकपा एस कोशीको अध्यक्षमा खड्का

न्युजलय २७ चैत २०८१, बिहिबार ०९:४१ मा प्रकाशित

विराटनगर । नेकपा एसले कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत निर्वाचित भएकी छिन् । मंगलबारबाट सुरू प्रदेश अधिवेशनबाट यसअघि उपसचिव रहेकी खड्कालाई प्रदेश अध्यक्ष बनाइएको हो । 


कोशीको अध्यक्षमा महेश रेग्मी, उपाध्यक्ष धर्म निरौला, केशवकुमार विष्ट र विनोद खड्कालेसमेत उम्मेदवारी दिएकोमा पार्टीले खड्कालाई अध्यक्ष घोषणा गरेको हो । सर्वसम्मतका नाममा खड्कालाई टीका लगाइएको भन्दै निरौलाले आपत्ती जनाएका छन् । 


निर्वाचन गराउनुपर्ने आफूहरुको मागलाई वेवास्ता गर्दै सहमतीको नाममा अल्झाउँदै राखेर भोलिपल्ट नाम घोषणा गरिएको उनले बताए । उपाध्यक्ष भएको नाताले अध्यक्ष हुने आफ्नो पालो भएको उनले बताए । 


नयाँ नेतृत्व चयनका लागि गठित अध्यक्ष मण्डलको अध्यक्षमा पार्टीका उपमहासचिव राजेन्द्र राई थिए ।


उपाध्यक्षको ठाउँमा नाम खाली राखिएको छ भने सचिव जलेश्वर राईलाई तोकेको छ । यस्तै उपसचिवमा भवानी शंकर विक र छिरिङ लामालाई चयन गरिएको छ ।