धरान । ताप्लेजुङको पाथीभरामा निर्माणाधिन केबलकारको पक्षमा लागेको भन्दै पदम चेन्जी माबोलाई मोसो दल्ने आठ जना विरुद्ध आपराधिक उपद्रो व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ । पीडित माबोको जाहेरीका आधारमा किटानी जाहेरी दर्ता भएको हो ।
मोसो दल्ने कार्यमा संलग्न विष्णु थाम्देन, अमर इजम, सुमन चेम्जोङ, जेन्टल लावतीलगायत ८ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताइएको छ । उनीहरुलाई पक्राउ गर्न आइतबारदेखि नै प्रहरी परिचालित भएपनि पक्राउ गर्न भने सकेको छैन । प्रहरीमा जाहेरी दर्ता भएको खबर पाएसँगै मोसो दलेको घटनामा संलग्नहरु भुमिगत भएका छन् । प्रहरीले निगरानी गरिरहेपछि नो केवलकार पक्षले आफुहरु नजरबन्दमा परेको भन्दै सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् ।
माबोलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले एक कार्यक्रमका बिच कुटपिट गरी कालोमोसो दलेका थिए। उनीहरुले माबोलाई माफी माग्न लगाएका थिए। उनीहरुमाझ माफी मागेका माबोले पछि प्रहरीमा पुगेर जाहेरी दिएका हु्न् ।