ताप्लेजुङ । ‘नो केबलकार’ पक्षधर र सुरक्षाकर्मीबीच बिहीबार दिउँसो झडप भएको छ । पदयात्रा गर्दै ताप्लेजुङको पाथीभरा मन्दिर पुगेका केवलकार विरोधीहरु र प्रहरीबिच झडप भएको हो । झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी ११ जना र प्रदर्शनकारीतर्फ १ जना घाइते भएका छन्।
पदयात्रा गर्दै पाथीभराको केबलकार निर्माण क्षेत्रमा पुगेर उनीहरुले सुरक्षाकर्मीलाई ढुंगामुढा गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन् ।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको थियो । ठूलो फेदीबाट केबलकार निर्माणस्थलतर्फ गएको पदयात्रा टोलीले निर्माणस्थल कब्जामा लिन खोजेको थियो । सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोज्दा स्थानीयले ढुंगा हानेका थिए ।